विश्वकप लिग २ः युवा खेलाडीको भरमा नेपाल आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पुरुष विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज आफ्नो पहिलो खेल नामिबियासँग खेल्दैछ । दिउँसो नेपाली समय अनुसार ३ः१५ बजे स्कटल्याण्डको कम्बसदुन नयाँ मैदानमा हुने खेलमा नेपाल आज नामिबियालाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्ने दाउमा रहेको छ । उता नामिबिया पनि नेपाललाई पराजित गर्दै अङ्क तालिकामा सुधार गर्न चाहन्छ ।

युवा खेलाडीले भरिपूर्ण नेपाली टोलीमा अनुभवी खेलाडीको अभाव खड्किन सक्ने यस अघिका क्यानडा सँग भएका दुई अभ्यास खेलले देखाई सकेको छ । टोलीमा एक दिवसीय खेलमा अनुभवी र क्रिलजमा टिकेर खेल्न सक्ने खेलाडीको आवश्यकता पर्छ तर नेपाली टोलीमा त्यसको अभाव देखिएको छ ।

पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, जस्ता ओडीआइ (५० ओभरको एकदिवसीय) मा अनुभव बटुलेका खेलाडीहरूको अभाव भने प्रत्यक्ष रुपमा नेपाली टोलीमा देखिएको छ । टोलीको ब्याटिङ भार पूर्ण रुपमा दिपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल, आरिप शेखको काँधमा रहने छ । केही समय देखि ओडिआइमा राम्राे प्रदर्शन गर्न नसकेका ऐरीले यस पटक जित निकाल्न सम्हालिएर खेल्नु पर्ने देखिन्छ ।

यता नामिबिया सिरिजको पहिलो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । लिग २ को अङ्क तालिकामा नेपाल १६ खेलमा १५ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ भने नामिबिया १५ खेलमा १४ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ  ।

नेपालले दोस्रो खेल स्कटल्याण्ड विरुद्ध जुलाई १३ मा खेल्नेछ भने तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा स्कटल्याण्ड विरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *