बाजुरा । स्थानीय तहको निर्वाचन अन्तर्गत बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपप्रमुखमा माया कुमारी खड्का कुँवर विजयी भएका छन् । प्रमुखमा बानियाँले एक हजार चार मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीलाई पराजित गरे भने र उपमेयरमा खड्काले कांग्रेसकै रिता शाहीलाई नाै सय ७२ मतले पराजित गर्दै विजयी भएका छन् ।
बानियाँले चार हजार सात सय ७७ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रङ्गबहादुर खातीले तीन हजार सात सय ७४ मत प्राप्त गरे । त्यस्तै, उपप्रमुखमा कुवँरले चार हजार सात सय २७ मत ल्याएकी छन् भने उनकी प्रतिस्पर्धी कांग्रेसकै रिता शाहीले तीन हजार सात सय ५५ मत ल्याइन् ।
१३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा नाै हजार एक सय २८ मत खसेको थियो ।
१० ओटा वडा रहेको यस नगरमा एमालेले वडा नं. ४ , ७ र ८ बाहेक सबै ७ ओटा वडामा विजयी हासिल गरेको छ भने र कांग्रेसले बाकि रहेका ३ ओटा वडामा जित हात पारेको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ६ ओटा वडामा जितेको थियो भने यस पटक ७ वटामा जित हात पारेको छ ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन बाजुराको बुढीगंगामा झडप भए पछि स्थगित भएको थियो । दाेस्राे पटक असार २३ गते मतदान सम्पन्न भएको थियो ।













