इंग्ल्याण्डसँगको टी २० सिरिज एक खेल अगावै भारतलाई

एजेन्सी । इंग्ल्याण्डसँगको तीन खेलको टी–२० श्रृंखलाको सिरिज पाहुना टोली भारतले जितेको छ । शनिबार राती बर्मिङ्म क्रिकेट स्टेडियममा भएको दोस्रो खेलमा इंग्ल्याण्डलाई ४९ रनले हराउँदै एक खेल अगावै भारतले २-० ले सिरिज जितेको हो ।

भारतले दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले १७ ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन मात्रै बनाउन सक्यो । उसका लागि मोइन अलीले सर्वाधिक ३५, डेभिड विलीले अविजित ३३, डेविड मलानले १९ र लियाम लिभिङस्टोनले १५ रन बनाउनृ बाहेक बाँकी ब्याटसम्यानले दोहोरो अङ्कमा खाता समेत खोल्न सकेनन् । राम्रो लयमा देखिएका कप्तान जोस बटलरले भने चार रन मात्र जोडन सके । ओपनर जेसन रोय र पाँचौ स्थानमा क्रिजमा गएका म्याट पार्किन्सन शून्य रनमा पेभिलियन फर्किए ।

भारतका लागि भुवनेश्वर कुमारले सर्वाधिक तीन विकट हात पार्दा जसप्रित बुमराह र युजवेन्द्र चहलले समान दुइ तथा हर्षल पटेल र हार्दिक पाण्ड्याले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ७० रन बनायो ।

उसका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४६ रनको अविजित पारी खेले । यस्तै, कप्तान रोहित शर्माले ३१, ऋषभ पन्तले २६, सूर्यकुमार यादवले १५ रनको योगदान दिए ।

बलिङतर्फ इंग्ल्याण्डका लागि क्रिस जोर्डनले सर्वाधिक चार विकेट लिए । इंग्ल्याण्डसँगका लागि डेब्यु खेलाडी रिचर्ड ग्लेसनले तीन विकेट हात पारे । ग्लेसनले चार ओभरमा मात्र १५ रन दिए । उनले उत्कृष्ट प्रदर्शन गर्दै एक ओभर मेडन राखे ।
अब भारत र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम खेल आज राती नटिङ्घममा हुनेछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *