सुखड । नागरिक उन्मुक्ति पार्टी पछिल्लो समय कैलालीमा आफ्नो सङ्गठनलाई मजबुत बनाउँदै गइरहेको छ । आज कैलालीको घोडाघोडी नगरपालिकाका माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सहित तीन सय ८४ जना नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका-१, सुखडमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम अायाेजना गरिएकाे थियाे । उत्त कार्यक्रममा नेकपा माओवादीका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य, थारू राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य तथा कैलाली क्षेत्र नं.३ प्रदेश (ख) का इन्चार्ज खुसीराम चौधरी र जनता समाजवादी पार्टीका प्रदेश सदस्य एवं सोही पार्टीको थारू संघका कैलाली जिल्ला अध्यक्ष भरत चौधरी सहित विभिन्न पार्टी परित्याग गरि तीन सय ८४ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य सन्तोष कठरियाले जानकारी दिएका छन् ।
पार्टी प्रवेश पछि कार्यक्रममा बोल्दै खुसीराम चौधरीले ‘नेकपा माओवादी केन्द्रले बिच बाटोमा छोडेर धोका दिएको हुनाले पाटी परित्याग गरे र अबका दिनमा यो पार्टी मेरो जीवन हुनेछ’ भन्दै ‘माओवादीले आफूहरूलाई धेरै चेतनशील बनाएको भए पनि सबै मुद्दा भने पूरा गर्न नसकेकाे’ बताएका छन् । उनले ‘माओवादी केन्द्रले निर्वाचन केन्द्रीत भएर मात्र रेशम चौधरीको रिहाईको लागि नाटकीय ढङ्गले सडक तताउने र अरु बेला वास्ता नगर्ने गरेको’ समेत बताएका छन् ।
नागरिक उन्मुक्ति पार्टी स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन देखि अन्य ठुला दललाई उछिन्दै कैलालीका चार स्थानीय तहमा विजयी भए पछि पहिलाे दलका रूपमा स्थापित भएकाे छ । त्यस यता उसले आफ्नो सङ्गठनलाई विस्तार गर्ने कामलाई तिव्रता समेत दिइरहेको छ ।













