एजेन्सी । महिला युरोकप फुटबलको गएरातिको खेलमा स्पेन र जर्मनी विजयी भएका छन् । इङ्ग्ल्याण्डको स्टेडियम एमके मैदानमा समूह ‘बी’ अन्तर्गतका दुर्इ खेलमा स्पेनले फिनल्याण्ड तथा जर्मनीले डेनमार्कलाई पराजित गर्दै विजयी सुरुवात गरेका हुन् ।
पहिलो खेलमा सुरुवातमै एक गोलले पछि परेको स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै फिनल्याण्डमाथि ४-१ गोल अन्तरको फराकिलो जित निकाल्यो । खेलको दोस्रो मिनेटमै लिन्डा सलस्ट्रोमले गोल गर्दै फिनल्याण्डलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । स्पेनका इरेन परेडेसले २६ औं मिनेटमा गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । सँगै ४१ औं मिनेटमा अइटाना बोन्मटीले गोल गरेपछि स्पेन २-१ ले अघि बढ्यो । यस्तै ७५ औं मिनेटमा लुसिया गार्सियाले टोलीका लागि तेस्रो गोल गरिन् ।
अतिरिक्त समयमा मारियोना क्यालडेन्टीले पेनाल्टीमार्फत गोल गर्दै स्पेनलाई ४(१ को सहज जित दिलाइन् । जितसँगै स्पेनले तीन अङ्क जोड्दा फिनल्याण्डले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
त्यस्तै गएराती ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा भएको दोस्रो खेलमा जर्मनीले डेनमार्कमाथि ४(० को सहज जित निकाल्यो । खेलको २१ औं मिनेटमा लिना मगलको गोल गोल गर्दै जर्मनीले अग्रता लिएको थियो ।
खेलको ५७ औं मिनेटमा लिया स्कलरले टोलीको अग्रता दोब्बर बनाइन् । ७८ औं लिना लाटविनले जर्मनीका लागि तेस्रो गोल गरिन् । ८६ औं मिनेटमा अलेक्जान्ड्रा पोपले गोल गर्दै टोलीलाई ४-० को सहज जित दिलाइन् । थप गरिएको समयमा क्याथरिन मोलर कुहलले दोहोरो पहेँलो कार्ड प्राप्त गर्दै मैदान छाडेपछि डेनमार्क १० खेलाडीमा समेटियो । जितसँगै जर्मनीले तीन अङ्क जोडेको छ भने डेनमार्कले पहलो खेलमै हार व्यहोरेको छ ।












