काठमाडाैं : सरकार र नेपाल आयल निगम बिच विगतमा गरिएका सम्झौता तत्काल कार्यान्वयन गर्न संयुक्त विद्यार्थी संगठन माग गरेकाे छ । नेपाल आयल निगमले पटक पटक पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको कार्यप्रति संयुक्त विद्यार्थी संगठनको आफ्नो गम्भीर ध्यानाकर्षण भएको र मूल्य वृद्धिलाई तत्काल फिर्ता लिन पनि माग गरेको छ ।
नेपाल सरकारले पेट्रोलियम पदार्थमा आयल निगम घाटामा रहेको भन्दै बेला बेला मूल्य वृद्धि गरिरहेको प्रति संयुक्त विद्यार्थी सङ्गठनले सोमबार संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै उक्त विषयप्रति आफूहरूको ध्यानाकर्षण भएको जनाएको छ ।

हप्ता दिन नबित्दै पेट्रोल, डिजल र मट्टितेलमा पटकपटक गरिएको मूल्यवृद्धिले यातायात र उडानमा प्रत्यक्ष प्रभाव परेकाे साथै जनताको दैनिक उपभोग्य वस्तु र सेवामा समेत चरम मूल्यवृद्धि भएको भन्दै तत्काल मुल्यबृद्दि फिर्ता लिन माग गरिएकाे छ । दाल, चामल, तेल, तरकारी, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु र सेवामा भएको चरम मूल्यवृद्धिले चुलो समेत बाल्न नसक्ने अवस्थामा आम नेपाली जनतालाई मारमा परेकाे भन्दै विद्यार्थी सङ्गठनले यस विषयलाई गम्भीर रुपमा लिइएको जनाइएको छ ।
साथै, स्थानीय तह निर्वाचन पछि विद्यालय सञ्चालन हुँदा देशभर विद्यार्थीहरूको पाठ्यपुस्तक विद्यालयहरूमा समयमा नपुगेकाले विद्यार्थीहरूको पठनपाठनमा भएको ढिलाइ प्रति पनि संयुक्त विद्यार्थी सङ्गठनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस विषयमा सरकार गम्भिर नभए आन्दोलनको गर्ने चेतावनी समेत विद्यार्थी संगठनले दिएको छ ।














