काठमाडौं । नेपालमा केही दिन यता कोरोना सङ्क्रमण दर बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय १५ जनाको आरटी पिसिआर र एन्टिजेन परीक्षण गर्दा ७८ जनामा कोरोना पुष्टि भएको हो ।
परीक्षण गरिएकामध्ये २.२१ प्रतिशतमा कोरोना पुष्टि भएको छ । जसमा एक हजार तीन सय ८४ जनाको आरटी पिसिआर गर्दा ६० जनामा र दुर्इ हजार एक सय ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
पछिल्लो २४ घण्टामा २३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । बिहीबार ८८ हजार छ सय ४४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् भने आज थप भएका संक्रमित सहित नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय आठ पुगेको छ ।













