बाँके । कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दाका फरार दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले मंगलबार बाँके जमुनाहास्थित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट उनिहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका-६ का ३३ वर्षीय अच्छन अलि अन्सारी र सोही ठाउँ का ३४ वर्षीय जोहरू भाट रहेका छन् ।
२०७५ असार ३१ गते अच्छन अलिले आफ्नै पत्नीलाई दाइजो कम ल्याएको निहुँमा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते उनकी श्रीमतीको उपचारको क्रममा ०७५ साउन २१ गते भारतको लखनउमा मृत्यु भएको थियो ।
त्यसैगरी जोहरू भाट सहित २ जनाले २०७० भदौ ७ गते दिउँसो बाँके जिल्लाको गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जबरजस्ती करणी गरेका थिए ।
कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेले २० वर्ष कैद सजाय ठहर गरेको थियो भने जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेले नै ७ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सहित सजाय ठहर गरेको थियो । सजाय ठहर भएका दुवैजना फरार रहेका थिए ।
पक्राउ पछि उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको छ ।













