सुखड । कैलालीको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी बहुमुखी क्याम्पस प्रशासनमा ताला लगाइएकाे छ । विद्यार्थीका समस्यालाई बेवास्ता गरेको र अनावश्यक व्ययभार वृद्धि गरेको भन्दै तीन विद्यार्थी सङ्गठनले संयुक्त रुपमा क्याम्पस प्रशासनमा आज बिहान ताला लगाएका हुन् ।
नेकपा माओवादी निकट अनेरास्ववियु(क्रान्तिकारी), नेकपा एमाले निकट अनेरास्ववियु (अखिल) र एकीकृत समाजवादी निकट अनेरास्ववियू गरि तीन विद्यार्थी संगठनले क्याम्पस प्रशासन र सञ्चालक समितिले आफूहरूले राखेका मागहरूको बेवास्ता गरेको र प्रशासनमा आफू खुसी अनावश्यक व्ययभार थपेको भन्दै ताला लगाएकाे जनाएका छन् ।
क्याम्पसमा भएका सवारीले विद्यार्थीको भार थेग्न नसकेकाले नयाँ बस सञ्चालन गर्नु पर्ने आफूहरूको मुख्य माग रहे पनि त्यस विषयलाई वास्ता नगरेको भन्दै विद्यार्थी संगठनले असार १९ गते संयुक्त प्रेस विज्ञप्ति जारी गरेका थिए । त्यस विषयमा क्याम्पस प्रशासन र सञ्चालक समिति गम्भिर नभएकाले ताला लगाउन वाध्य भएकाे अनेरास्ववियूका नेता हुकुम आचार्यले बताएका छन् ।
अनेरास्ववियु (अखिलका) क्याम्पस इकाई कमिटी अध्यक्ष अशोक गौतमले आफूहरूले क्याम्पस प्रशासनसँग विद्यार्थीको सहजताका लागि सवारी (बस) किन्न बेला बेला ताकेता गर्दा पनि अटेरी तथा बेवास्ता गरेकाले ताला लगाउनु पर्ने बाध्यता आएको बताएका छन् ।














