अछाम । अछाम जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम मङ्गलसेनका विभिन्न ठाउँमा आज अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
जिल्लाको पञ्चदेवल विनायक–४ का विनोद शाहीको ज्यान गएकाे घटनालाई लिएर दैनिक प्रदर्शन हुन थालेपछि आज बिहानदेखि अनिश्चित कालीन निषेधित क्षेत्र घोषणा गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासनका अनुसार, विनोद शाहीको मृत्यु प्रकरणमा केही व्यक्ति पक्राउ परेका छन्, प्रहरीले पक्राउ परेकालाई अदालतसम्म लैजाने अवस्था नरहेकाले अनिश्चित कालीन निषेधित क्षेत्र घोषणा गरिएको हो, वातावरण शान्त भए निषेधित क्षेत्र हटाइने जनाएको छ ।
अछाम दरबार क्षेत्र, जिल्ला अदालत, जिल्ला सरकारी वकिल कार्यालय, बैरागी धारा, बस काउन्टर, मङ्गलसेन नगरपालिका कार्यालय तथा कृषि ज्ञान केन्द्र आसपासको जीप काउन्टर क्षेत्र भित्रलाई निषेधित क्षेत्र घोषणा गरिको जनाएको छ ।
प्रशासनले जारी गरेको निषेधित क्षेत्र भएको ठाउँमा कुनै पनि विरोधका कार्यक्रम नगर्न/नगराउन तथा भेल नहुन प्रशासनले आदेश दिएको छ । निषेधित क्षेत्र उल्लङ्घन गरेको पाइएमा कानुनी कारबाही हुने समेत जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सोमवार सदरमुकाम मङ्गलसेन मृतक शाहीको न्याय मागका लागि पुगेका आफन्त, स्थानीयवासी तथा प्रहरी बिच झडप भएको थियो । उक्त झडपमा परि १२ जना भन्दा बढी नेपाल प्रहरी तथा दर्जनौँ स्थानीयवासी घाइते भएका प्रहरीले जनाएको छ । गएकाे वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा फेला परेका थिए ।













