काठमाडाैं । चर्चित नायिका स्वस्तिमा खड्का आज २७ औ जन्मदिन मनाउँदै छिन् । अहिले राम्रो देखिएको उनको करिअरको सुरुवात भने संघर्षमय थियो । चलचित्र ‘होस्टेल रिर्टन्स’ बाट सहनायिकाको रूपमा स्वस्तिमा खड्काले फिल्ममा डेब्यु गरेकी थिइन् । यो चलचित्र सफल भएपनि स्वस्तिमाको करिअरले भने फड्को मारेन ।
डेब्यू चलचित्र रिलिज भएलगत्तै स्वस्तिमाले निर्देशक निश्चल बस्नेतसँग विवाह गरिन् । विवाहपछि मात्र स्वस्तिमाको करिअर राम्रो भएको मान्न सकिन्छ । बिहेपछि नै उनले दर्शकमाझ आफ्नो पहिचान बनाएकी हुन् । विवाहपछि दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘लभ लभ लभ’ मा उनको अभिनयको चर्चा भएपनि चलचित्र चल्न सकेन ।
स्वस्तिमाले दुई चलचित्रपछि श्रीमान् निश्चल बस्नेतले अभिनय गरेको फिल्म ‘दुई रुपैयाँ’ को ‘कुटुमा कुटु’ गीतमा नृत्य गरिन, गित ब्लकबस्टर भयो । त्यसपछि भने उनले फर्केर हेर्न परेन । उनको चलचित्र यात्राले एकाएक उचाइ लियो । दुई चलचित्रमा अभिनय गर्दा समेत गुमनाम झैं रहेकी उनलाई यही गीतले दर्शकमाझ चिनाएको हो । ‘कुटुमा कुटु’ गीतको कारण उनले दीपक राज गिरी र दीपा श्री निराैलाको हिट चलचित्र ‘छक्का पञ्जा २’ मा काम गर्ने मौका पाइन् । फिल्म बक्सअफिसमा सफल हुँदा उनको करिअरलाई पनि राहत मिल्यो ।
स्वस्तिमाले मुख्य भूमिकामा अभिनय गरेको अर्को सुपरहिट चलचित्र हाे ‘नाईं नभन्नू ल ५’ । तर, त्यसयता उनको कुनै फिल्म ब्यापारीक रूपमा सफल भएको छैन । गएको ४ वर्षमा स्वस्तिमाले ‘हजार जुनीसम्म’, ‘घामड शेरे’, ‘बुलबुल’, ‘चपली हाइट ३’ र ‘चिसो मान्छे’ फिल्ममा अभिनय गरिन् । त्यसमध्ये सबैजसो चलचित्र व्यापारीक हिसाबले असफल रहे । यद्यपि चलचित्र सफल नभएपनि ‘बुलबुल’ र हाल प्रदर्शनरत ‘चिसो मान्छे’ मा उनको अभिनयको प्रशंसा निकै भयो ।
नेपाली चलचित्र क्षेत्रकी निकै व्यस्त नायिका स्वस्तिमाले अभिनित ९ चलचित्र मध्ये ‘होस्टेल रिर्टन्स’, ‘छक्का पञ्जा २’ र ‘नाईं नभन्नू ल ५’ मात्र सफल भएका छन् । चर्चाको आधारमा खड्का अहिलेकी निकै सफल नायिका हुन्, तर उनले अभिनय गरेका चलचित्र सफल हुन सकेका छैनन् ।












