अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का विनोद शाहीको मृत्युबारे छानबिन गर्न तथा न्यायको माग गर्दै आज सोमबार बिहानैदेखि भएको प्रदर्शनले जिल्ला सदरमुकाम मङ्गलसेन तनावग्रस्त बनेको छ । प्रदर्शनमा उत्रिएका स्थानीयले शाहीको हत्या भएको दाबी गर्दै हत्यारालाई बचाउन सरकारी तवरबाट नै सरकारी वकिल कार्यालयले भूमिका खेलेको आरोप समेत लगाएका छन् ।
स्थानीयले वकिलको कार्यालय र जिल्ला अदालतमा ढुंगामुढा समेत गरेका छन् । सोही क्रममा झडप हुँदा १२ जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास समेत प्रहार गरेको छ । जिल्लामा शान्ति सुरक्षा कायम गर्न अन्य जिल्लाबाट समेत सुरक्षाकर्मी ल्याइएकाे छ ।
वैशाख १७ गते बेपत्ता भएका शाही असार २१ गते बिहान १० बजे गाउँ नजिकैको भीरमा मृत फेला परेका थिए । उनको हत्या भएको भन्दै परिवारले नगरपालिकाका मेयर, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष, जिल्ला समन्वय समितिकी उपसंयोजक, सोही गाउँका मेयरमा नजिक मानिएका एक शिक्षक तथा उनकी श्रीमती द्रोपती शाही विरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै अन्य १३ जनाविरुद्ध पनि मृतकका दाजु डम्बर शाहीले किटानी जाहेरी दिएका थिए । तर, प्रहरीले किटानी दर्ता गर्न नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी दिएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा मेयर सहित सात जना पक्राउ परेका छन् । किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार रहेका र उक्त मुद्दामा प्रहरीले मेयर सहित सात जनालाई अदालतबाट दुई दिनको म्याद थप गरी हिरासतमा राखेको छ । बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ ।













