अछाममा युवक हत्या प्रकरण : पञ्चदेवलकी मेयर अम्बिका सहित ७ जना पक्राउ

अछाम । अछाममा विनोद शाहीको मृत्यु प्रकरणमा आफन्तले प्रहरीमा किटानी जाहेरी दिएपछि जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने सहित ७ जना पक्राउ परेका छन् । पक्राउ परेका अन्यकाे नाम अहिले सार्वजनिक गर्न नमिल्ने अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन् ।

विनोदको हत्या आरोपमा १३ जनाविरुद्ध आफन्तले किटानी जाहेरी दिएका थिए । अहिलेसम्म सात जना पक्राउ परेका छन् भने ६ जनाको खोजी जारी रहेको प्रहरीले जनाएकाे छ । यो घटनाको केन्द्रिय अनुसन्धान ब्यूराे (सीआइबी) ले पनि अनुसन्धान गरिरहेको बताइएको छ । मृतकका आफन्तले भने हत्या भएको र हत्यामा संलग्नलाई प्रशासनले पहिचान गरी कारबाही गर्न ढिलाइ गरिरहेको भन्दै जिल्लामा यातायात ठप्प पार्दै प्रदर्शन गरिरहेका छन् ।

यस बीचमा वैशाख ३० गतेको स्थानीय तह चुनावका विषयमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको र त्यसपछि मृतक बेपत्ता भएको भन्ने एक पक्षको भनाइ रहेको जनाइएको छ । मृतक शाही एमालेनिकट भएकोले कांग्रेस कार्यकर्ताले उनको हत्या गरेको आरोप समेत लागेको छ । 

यसैबीच विनोदको हत्या आरोपीलाई पक्राउ नगरेको भन्दै अछामका पाँच राजनीतिक दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र राप्रपाले आइतबार बिहानैदेखि जिल्लाभर यातायात बन्द समेत गरेका छन् ।

विनोद शाही गत जेठ १७ गतेदेखि बेपत्ता भएका थिए । उनको शव जेठ २१ गते घर नजिकैको जङ्गलमा फेला परेको थियो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *