काठमाडौं । आउँदो जुलाई २५ देखि अगस्ट ५ सम्म भारतको भुवनेश्वरमा आयोजना हुने २० वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा ३० खेलाडी छनोट गरेको छ । आइतबार एन्फाले प्रारम्भिक प्रशिक्षणमा रहेका ४१ खेलाडीबाट दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३० खेलाडीलाई छनोट गरेको हाे ।
नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शनका आधारमा ११ खेलाडीलाई बाहिर राख्दै दोस्रो चरणको प्रशिक्षण क्याम्प सञ्चालन गर्न लागेका हुन् । यू-२० साफ च्याम्पियनसिप फुटबलमा आयोजक राष्ट्र भारतसहित नेपाल, माल्दिभ्स, श्रीलंका र बङ्गलादेशले भाग लिने भएका छन् ।
लिगकम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगितामा शीर्ष दुई टोलीबीच फाइनल भिडन्त हुनेछ । साफले यस प्रतियोगितालाई एएफसी यू-२० एसियन कप छनोट फुटबलको तयारी प्रतियोगिताको रुपमा पनि लिएको छ ।
नेपाल एसियन कप छनोटको समूह ‘बी’ मा परेको छ । समूह ‘बी’ मा नेपाल सहित कतार, बहराइन, भुटान र बंगलादेश रहेका छन् । छनोट खेल सेप्टेम्बर १० देखि १८ सम्म बहराइनमा हुनेछ । समूह विजेता टोलीले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।
बन्द प्रशिक्षणमा रहेका ३० नेपाली खेलाडी
- गोलरक्षक : ईश्वर गुरुङ, उनेश चौधरी, जियारथ सेख र सौरभ कार्की ।
- रक्षक : अकिव हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुष श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, आश्विन भट्टराई, सृजन धानी, रोशन थापा र राज थोकर ।
- मिडफिल्डर : अभिषेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ, कृतिशरत्न छिन्जु, प्रीतम स्याङ्तान, सुगम सुवाल, मनग्य नकर्मी र आयुष घलान ।
- स्ट्राइकर दिपेश राई, निरञ्जन मल्ल, रोहित सुब्बा र रोहन खड्गी ।













