काठमाडौं । रन्जु दर्शना काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा चुनाव लडने भएकी छन् । विवेकशील साझा पार्टीकी पूर्वनेतृ दर्शनाले काठमाडौं ५ बाट चुनाव लडने तयारी भएको र केही दिनमा औपचारिक घोषणा गर्ने सामाजिक सञ्जालमार्फत जानकारि गराएकि हुन् ।
दर्शना यस अघि विवेकशील पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा पराजित भएकी थिइन् । २१ वर्षकै उमेरमा उनले मेयरमा उम्मेदवारी दिएसँगै उनकाे चर्चा एकाएक चुलिएकाे थियाे । ०७४ काे चुनावमा पराजित भए पनि उनी तेस्रो स्थानमा रहँदै २३ हजार ४ सय ३९ मत प्राप्त गरेकी थिइन् ।
वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा अधिकतम ढोंग पाएको उल्लेख गर्दै उनले विवेकशील साझा पार्टी छाडेकी थिइन् ।
२०७४ सालको चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ मा नेकपा एमालेका ईश्वर पोखरेल विजयी भएका थिए । उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई झन्डै १० हजार मतले हराएका थिए ।













