एजेन्सी । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले नयाँ राष्ट्रिय क्रिकेट टोलीको कप्तान घोषणा गरेको छ । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले इंग्ल्यान्ड क्रिकेट टोलीको कप्तानमा इयोन मोर्गनको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास को घोषणापछि बिहीबार ३१ वर्षीय जोस बट्लरलाई एकदिवसीय र टी-२० टिमको कप्तानमा नियुक्त गरेको छ ।
बट्लर एक दशकभन्दा बढी समयदेखि इङ्ग्ल्याण्डको ह्वाइट बल टोलीको एक महत्वपूर्ण हिस्सा रहेका छन् । उनले सन् २०११ मा टी-२० आईमा डेब्यु गरेका थिए । लगातारको उत्कृष्ट प्रदर्शनले एक वर्षपछि उनले एकदिवसीयमा पनि डेब्यु गरेका थिए । विकेटकिपर ब्याट्सम्यान समेत रहेका बट्लरले सन् २०१५ देखि इंग्ल्यान्ड क्रिकेट टोलीको उपकप्तानको जिम्मेवारी समेत सम्हाल्दै आएका थिए ।
उनले नौ ओटा एक दिवसीय र पाँच टी-२० खेलमा इंग्ल्यान्ड टोलीको नेतृत्व समेत गरिसकेका छन् । उनले १ सय ५१ एक दिवसीय खेलमा ४ हजार १ सय २० रन बनाएका छन् । जसमा १० शतक समेत प्रहार गरि सकेका छन । ८८ टी-२० अन्तर्राष्ट्रिय खेलमा उनले २ हजार १ सय ४० रन बनाएका छन् ।
उनी इङ्ग्ल्याण्डका लागि तीनवटै ढाँचामा शतक बनाउने खेलाडी समेत पनि हुन् । बट्लर यस पटकको इन्डियन प्रिमिएर लिग आइपिएलमा समेत उत्कृष्ट खेलाडी घोषित भएका थिए । जसमा उनले ४ ओटा शतकको मद्दतले सर्वाधिक ८ सय ६३ रन बनाएका थिए ।












