सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले किसानलाई हौसला प्रदान गर्न १२ जना उत्कृष्ट कृषकलाई नगद सहित सम्मान गरेकाे छ । पालिकाले आज एक कार्यक्रम आयोजना गरि नगरका १२ वटै वडाबाट एक एक जना उत्कृष्ट किसान छनोट गरि ६ हजार नगद सहित सम्मान गरेकाे हाे । हिजो मात्र ५० प्रतिशत अनुदानमा २३ जना कृषकलाई पावर टिलर ट्याक्टर वितरण गरेकाे पालिकाले आज पुनः कृषि शाखाको आयोजनामा नगरका १२ वटै वडाबाट उत्कृष्ट १२ कृषकलाई छनोट गरि प्रत्येकलाई ६ हजार रुपैयाँ सहित सम्मान गरेको हाे । प्रत्येक वडाले एक एक जना कृषक छनोट गरि पठाएका १२ वटा कृषकलाई सम्मान गरेको घोडाघोडी नगरका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार आचार्यले बताए ।

उत्कृष्ट सम्मानित भएका कृषकले आफूहरूले नगरपालिकाले सम्मान गरेकाे भन्दै खुसी व्यक्त गरे पनि अझै मलखाद, बजार र सिँचाइको अभाव कायमै रहेको गुनासो समेत गरेका छन् । वडा नं. ६ बाट उत्कृष्ट कृषक घोषणा भएकी संगीता चौधरीले ‘अहिले सम्म पनि आफूहरू मलको लागि भौँतारिनु परेको र समयमै कहिले पनि मल नपाइने’ गुनासो गरेकी छन् ।
यस्तै वडा नं. ८ बाट उत्कृष्ट कृषक छनोट भएका धन बहादुर चौधरीले ‘बजारीकरणको समस्या नै अहिलेको मुख्य समस्या रहेको बताउँदै ‘भारततीय बजारबाट आयातीत खाद्य वस्तुका कारण स्थानीय उत्पादनले मूल्य नपाएको’ गुनासो गरका छन् । साथै उनले नगरको आफ्नै एग्रोभेट भएको भए किसानलाई बिउ बिजन पाउन सहजता हुने कुरा समेत बताएका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खडक बहादुर रावतले रासायनिक मल भन्दा प्राङ्गारिक मलको बढी प्रयोग गर्न किसानलाई आग्रह समेत गरेका छन् । ‘अहिले आएर हामीले गाई गोरु पाल्न छोडेको र सडकमा छाडा पशु चौपाया बढेको र यदि सबैले लगेर ती पशु चौपाया पाल्दा सडकमा छाडा चौपाया पनि हुँदैनन् त्यसो गर्दा मलको पनि अभावमा कम हुन्छ’ भन्दै रावतले ‘कृषि क्षेत्रलाई विशेष प्राथमिकताका साथ नीति तथा कार्यक्रममा पनि समावेश गरेको’ जनाएका छन् । साथै सके सम्म कृषि प्राविधिक पनि गाउँमा दुई ओटा वडाको एक व्यक्ति तोकेर पनि आफूहरू त्यस कार्यलाई अगाडि बढाउने जिकिर गरेका छन् ।












