एजेन्सी । गए राती सम्पन्न आयरल्याण्डसँगको दोस्रो तथा अन्तिम टी २० क्रिकेटमा भारत चार रनले विजयी भएको छ । जितसँगै आयरल्यान्डसँगको दुई खेलको सिरिजमा भारतले क्लिनस्विप गरेको छ । जितका लागि भारतले दिएको २ सय २६ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान एन्ड्री बलबर्नीले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले । यस्तै पउल स्टर्लिङ ४०, ह्यारी टेक्टर ३९ रनमा आउट हुँदा जर्ज डोकरेल ३४ तथा मार्क आदिर २३ रनमा अविजित रहे पनि टोलीलाई जित दिलाउन सकेनन् ।
बलिङ तर्फ भारतका भुवनेश्वर कुमार, हर्षल पटेल, रवि विश्रोई र उमरान मकिलले समान एक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय २५ रन बनायो ।
उसका लागि दीपक हुडाले शतकीय पारी खेले । टी २० मा सुरेश रैना, रोहित शर्मा र लोकेश राहुल पछि शतक प्रहार गर्ने हुडा भारतका चौथो खेलाडी हुन् । उनले ५७ बलमा ६ छक्का र ९ चौकासहित १ सय ४ रन बनाए । यस्तै सञ्जु सामसनले ७७ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्या १३ रनमा अभिजित रहे ।
आयरल्याण्डका लागि मार्क आदिरले एक्लैले ३ विकेट लिए । त्यस्तै जोश लिटिल र क्रेग याङ्गले समान २ विकेट लिए । यस अघि पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो ।













