कैलाली। असार १५ अर्थात् राष्ट्रिय धान दिवस देशभर रोपाइँ लगायत विभिन्न कार्यक्रम गरि मनाइदैछ ।‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस राष्ट्रिय चाडका रूपमा मनाइदैछ । खास गरि किसानका लागि विशेष दिन हाे, आज । असार १५ लाई दही चिउरा खाने दिन पनि भन्ने गरिन्छ । मुरी रोपेर मानो फकाउने किसानका लागि आजको दिन विशेष मानिन्छ । असारे महिनाको मुसल धारे झरी अनि खहरे खोला पार गर्दै खेतमा धानको बीउ रोप्ने किसान असारको महिना जहिले खेतबारी मा मात्र देखिन्छन् । मुसल धारे झरी पर्दा सबै भिज्ने डरले भित्र बस्छन् भने ती किसानहरू भिज्दै रोपाइँ गर्दै आफ्नो खुसियाली साटासाट गर्दछन् । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपूँ छुपूँ हिलोमा धान रोपिन्छ । ‘छुपूँ र छुपूँ हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

असारमा किषानले सम्झिने दैवज्ञराज न्यौपानेद्वारा सृजित एउटा कविता मानसपटलमा छ ।
“किसानको रहर”
सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान
बिहान पख झुल्किनछ घाम देउराली पाखामा
आसरे गीत घन्किनछ अनि सुरिलो भाकामा
काँधको शोभा हलो र जुवा हातमा कोदाली
जीवन धान्नु गर्नु नै पर्ने उकाली ओराली
छुपूँ र छुपूँ हिलोमा धान रोपेर छोडौँला
बनाई कुलो लगाई पानी आएर गोडौँला
भनेर सानी पटुकी रातो बाँधेर झरेकी
धमिलो खोला बाढीले होला कसरी तरेकी ?
गालामा साना पसिना दाना मोती झैँ खुलेकी
घाम र पानी भोक र तिर्खा कसरी भुलेकी
सुसेली हाली बयेली खेल्छ बतास रातमा
जूनले पोख्छ शीतका थोपा धानका पातमा
सुनौला बाला झुलेर होला भुईँलाई छोएको
फलेको हाँगो कहिले छ र ननुही रहेको ?
हिमाल हाँस्छ मिलाई सेता दाँतका लहर
किसान बनी जहान पाल्ने यो मेरो रहर ।
वास्तवमा कविले भने झैँ नै यो असारमा किसानहरू आफ्नो दिनचर्या बिताइ रहेका हुन्छन् ।
मध्य गर्मीको यो समयमा युवा ‘लाठे’ र युवती ‘रोपाहार’ ले खेतका गह्राको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एक पटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपाली समाजमा रहेको छ । औपचारिक रूपमा सरकारले निर्णय गरेर धान दिवस घोषणा गर्नुअघि नै नेपालमा असार १५ गते दही चिउरा खाने संस्कृति प्राचीन कालदेखि नै रहिआएको धर्मशास्त्रविद् बताउँछन् ।
रोपाई महोत्सव
खासमा असर १५ अर्थात् धान दिवस किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले वि सं २०६२ असर १५ गते देखि कृषि तथा सहकारी मन्त्रालयले देशभर असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन सुरु गरेको हो । यस दिनमा कृषि क्षेत्रसँग सम्बन्धित संघ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यस दिनलाई रोपाइँ महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

असारमा दही चिउरा
धान दिवसका अवसरमा आज खेतमा काम गरी दही चिउरा प्रचलन रहेकाे छ । दही चिउरा खानाले थकित भएका किसानमा उर्जा प्राप्तिका हुने मान्यता छ । यसले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभ कार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभ काममा निस्कनुअघि रातो टीकासँगै सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्य वर्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गर्नुभएको थियो भनिन्छ । आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाइएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मी कहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ ।
पखाला लागेका बेला दही चिउरा खाएमा औषधिको काम गर्छ । यसैले दही चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रूप लिएको छ ।
किसानकाे पीर
यति खेर किसान खेतीपाती लगाउन खेतबारी मा व्यस्त देखिन्छन् । खाना खान समेत फुर्सद नपाउने किसानलाई एउटै चिन्ता छ जहिले पनि खेतीपाती को समयमा नेपालमा मलको समस्या झेल्नु । समयमा मल नपाउनु किसानको लागि निकै पीडा हो ।
बिचौलियाले मललाई आफ्नो व्यापार बनाउनु ले किसानलाई निकै सास्ती भइरहेको छ । कहिले सम्म यसरी किसानले समयमा मल नपाउने हुन । सरकार यस विषयमा गम्भीर कहिले हुने भन्ने कुराले जहिले पनि किसानलाई पिरोल्छ । तर सरकारले यस विषयमा हामी गम्भीर छौँ, चाँडै किसानले यस्तो समस्या बाट मुक्ति पाउँछन् भनिरहन्छ ।
सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७६/ ७७ मा मुलुकको झण्डै १४ लाख ५८ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती भएकाे थियाे भाने ५५ लाख ५० हजार ८ सय ७५ मेट्रिक टन धान उत्पादन भएकाे थियाे । सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउँदै आए पनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्धि हुन नसकेको कृषि विज्ञहरूको भनाई छ । कृषि गणना अनुसार नेपालमा ४१ लाख घरपरिवार कुनै न कुनै रूपमा कृषि कार्यमा सामेल छन् ।
चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि तथा पशुपन्छी विकास मन्त्रालयतर्फ ५५ अर्ब ९७ करोड रुपैयाँ विनियोजन गरिएको बताए । कृषिमा चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटको तुलनामा १० अर्ब ८८ करोड रुपैयाँ बढी हो । आर्थिक वर्ष २०७८/ ७९ मा मन्त्रालयका लागि ४५ अर्ब ९ करोड छुट्याइएको थियो । तर वर्षेनी बजेट बढेपनि किसानले भने अझै राहत महसुस गरेका छैनन् । किसानका नाममा गैर किसानले विभिन्न निकायबाट सहुलियत प्राप्त गरेका समाचार आआइरहनु विडम्बनाकै विषय हाे ।
राष्ट्रिय धान दिवस मनाइरहँदा सरोकारवालाले संकल्प हर्न जरूरी छ की ‘ढाेंगि किसान’ पाेस्ने परिपाटिकाे अन्त्य गरि वास्तविक किसानले राहत सहुलियत तथा अनुदानका साथै सहज रूपमा खेती गरि जिविकोपार्जनको वातावरण मिलाउनु आजको आवश्यकता हाे ।












