घोडाघोडी नगरपालिकाको नीति तथा कार्यक्रम: शिक्षा, स्वास्थ्य र कृषि प्रमुख प्राथमिकतामा

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाको शुक्रबार १५ औं नगर सभामा आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नगर प्रमुख खडक बहादुर रावतले सभामा प्रस्तुत गरेका थिए ।

शैक्षिक सुधारकाे नीति

नगरपालिकाले शिक्षालाई प्रमुख प्रार्थमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर तथा कुशल व्यवस्थापन गर्न नियमावली बनाई कार्यान्वयन गर्ने, नगरमा सामुदायिक विद्यालयमा दरबन्दी न्यून भएकाले संघ र प्रदेश सरकारबाट प्राप्त नभएसम्म शिक्षक विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गर्ने एवं विद्यालयको व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गर्न प्रध्यानाध्यापक  नियुक्तिका लागि आवश्यक कानुन निर्माण गरी कार्यान्वयन गरिने, शिक्षकहरूको मनोबल उच्च राखी बालबालिकाको सिकाइ उपलब्धि वृद्धि गर्न मूल्याङ्कनका वस्तुनिष्ठ आधार तय गरी पुरस्कार र दण्डको प्रभावकारी कार्यान्वयनका साथै नगरपालिकाको शैक्षिक विकासका लागि नगर शिक्षा योजनालाई क्रमश कार्यान्वयन गर्दै लगिने र जीवनोपयोगी सीप विकासका लागि प्राविधिक शिक्षामा जोड दिइनेछ उल्लेख गरिएकाे छ । 

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमलाई प्रवर्द्धन गर्नका लागि विभिन्न शिक्षण संस्था मार्फत सञ्चालन गरिएका व्यवसायिक शिक्षाको गुणस्तर वृद्धिमा जोड दिने एवं विद्यालय शिक्षालाई समायानुकुल तथा गुणस्तरीय बनाउनका लागि शिक्षण सिकाइ क्रियाकलापमा सूचना तथा प्रविधिको प्रयोग गर्नका लागि जनशक्तिको क्षमता विकास गरी गुणस्तर वृद्धिमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ ।  यसका साथै उत्कृष्ट कार्यसम्पादन गर्ने विद्यालयहरूलाई प्रस्तावनाका आधारमा नमुना विद्यालय बनाउन सहयोग उपलब्ध गराउँदै शैक्षिक गुणस्तर वृद्धि गर्दै लगिने, नगर स्तरको शैक्षिक गुणस्तर सुधारका लागि परीक्षा प्रणालीमा सुधार ल्याइने जनाइएकाे छ ।

प्राथमिक तह र आधारभूत तह को अन्तिम परीक्षालाई नगर स्तरमा सञ्चालन गरिने एवं विद्यार्थीको सिकाइ उपलब्धि परीक्षण गर्न कार्यक्रम सञ्चालन गरिने र प्रत्येक सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न तहगत तथा विषयगत सक्षमता कार्यान्वयन गर्ने गरी कार्ययोजना बनाई कार्य गर्न जस्ता विषय समावेश गरिएकाे छ । यसका लागि विषयगत शिक्षकसँग अन्तरक्रिया सञ्चालन गरी शिक्षण सिकाइ क्रियाकलाप लाई प्रभावकारी बनाइने, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूलाई पेशागत सहयोग प्रदान गर्नका लागि रोष्टर शिक्षक तयारी गरी नियमित रुपमा पेशागत सहयोग प्रदान गरिने जस्ता कुरालाई समेटिएको छ । 

कृषि तर्फ

त्यसै गरी कृषिलाई पनि नगरपालिकाकाे नीति तथा कार्यक्रममा प्रमुख प्राथमिकता दिइएको छ । यसमा २९ बुँदा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

समावेश भएका कार्यक्रमहरू:

  • किसान सुचीकरण कार्यक्रमलाई निरन्तरता दिइने ।
  • प्रविधि प्रसारण तथा क्षमता विकासको माध्यमबाट खाधान/आलु बीउमा आत्मनिर्भर बन्न लगानीका सामाग्रीहरुमा अनुदानको नीति अवलम्बन गरिने ।
  • सम्भाव्यताको आधारमा खाद्यान्न/तरकारी फलफुल/मसला एक वडा / टाेल एक पकेटको अवधारणा अवलम्बन गरिने ।
  • चामल आयात कम गर्न मसिना तथा बास्नादार धान खेतीको क्षेत्र विस्तारका साथै चैते धान खेतीलाइ प्राथमिकता दिइने ।
  • किसानहरुलाई संरक्षण गर्नका लागि बाली बीमा कम्पनी र कृषकसंग समन्वय गरी बाली बीमा कार्यक्रमलाई प्रोत्साहन गरिने तथा  कृषि विषय अध्ययन गरेका/वैदेशिक रोजगारीबाट फर्केका युवाहरुका लागि रोजगारीका अवसर सृजना गर्न क्षमता विकास तथा प्रस्तावमा आधारीत युवा लक्षित कार्यक्रम गर्ने नीति अवलम्बन गरिने ।
  • उत्पादन तथा उत्पादकत्व बढाउनका लागि माटो जाँच तथा माटो सुधार कार्यक्रम गरिने ।
  • स्थापना भएका फलफूल बगैचाहरुको स्थायीत्व तथा उत्पादन क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम गरिने ।
  • बाली संरक्षण सेवा अन्तरगत आधुनिक प्रविधि अवलम्बन गर्ने नीति लिईने ।
  • कृषि स्वयंसेवक कार्यक्रम अन्तरगत पुष्प/फलफुल तरकारी जस्ता बालीका स्रोत नर्सरी स्थापना गर्ने नीति लिईने, व्यवसायिकीकरण, यान्तिकरण र सिंचाई जस्ता कार्यक्रमलाई प्राथमिकता दिईने ।
  • प्रविधि प्रदर्शन तथा प्रविधि हस्तान्तरण जस्ता कार्यक्रम अवलम्बन गर्न उन्नत जातको खाध्यान्न,फलफुल तथा तरकारी बालीको बीउ/बेर्नामा अनुदानको नीति लिईने तथा प्रतिस्पर्धात्मक खेती प्रणालीको विकासका लागि उत्कृष्ट कृषकलाई सम्मान गर्ने नीति अवलम्बन गरिने ।।
  • कमैया मुक्त शिविर/दलित/भूमिहिन/साना कृषकहरुलाई संरक्षण तथा जिविको उत्थान गर्ने नीति अवलम्बन गरिने आदि जस्ता योजनालाई प्राथमिकतामा राखेको छ ।

स्वास्थ्य तर्फ

  • आर्थिक वर्ष २०७९/०८० मा साडेपानी स्वास्थ्य चौकीमा १५ सैयाको नगर अस्पताल सञ्चालनमा ल्याइने र उक्त अस्पतालमा एक सुविधा सम्पन्न प्रयोगशाला केन्द्र रहने ।
  • एक अस्पताल फार्मेसी स्थापना गरिने तथा यसका साथै अस्पतालमा २४ घण्टे स्वास्थ्य सेवा सञ्चालन गरी स्वास्थ्य बीमा कार्यक्रम लागू गरिने  र  यसका लागि आवश्यक पर्ने अत्यावश्यक भौतिक पूर्वाधार, औजार उपकरण, जनशक्तिको व्यवस्थापन गरिने ।
  • स्वास्थ्य संस्थाहरूमा सञ्चालनमा रहेका प्रयोगशालाहरूको स्तरोन्नति गरी स्वास्थ्य चौकीहरूमा ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति, सुत्केरी र महिला स्वास्थ्य स्वयम् सेविकाहरूको सम्पूर्ण प्रयोगशाला जाँच निशुल्क गर्ने व्यवस्था मिलाइने ।
  • विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीबाट नेपाल पनि अति जोखिममा रहेकोले सो को संक्रमण रोकथाम तथा न्यूनिकरण गर्ने नीतिलाई उच्च प्राथमिकता दिइने
  • जनताको स्वस्थ जीवनयापन गर्न पाउने अधिकारलाई सुनिश्चिता गर्न कोभिड १९ महामारी लगायत अन्य रोगको आपतकालीन अवस्थामा बजेटको अभाव हुन नदिने ।
  • स्थानीय स्तरमै सो को रोकथाम गर्न कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने नीति लिइने ।
  • विभिन्न सरुवा रोगहरूको महामारी तथा कोराना भाइरस संक्रमण जस्ता अन्य महामारी वाट हुन सक्ने असरलाई न्यूनिकरण गर्न र दैवी प्रकोपको क्षति पश्चात हुनसक्ने महामारीको समयमै उचित व्यवस्थापनका लागि नगर स्तरीय ¥यापिड रेसपोन्स टिम ( RRT) लाई बजेट व्यवस्थापन गरी थप प्रभावकारी बनाइने। 
  • सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ तरिकाले प्रवाह गर्न हरेक वडामा स्थापना गरिएका आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा थप जनशक्तिको व्यवस्थापन र स्वास्थ्य सेवा सुदृढ गरी जनताको घर दैलोमै स्वास्थ्य सेवाको पहुँच विस्तार गरिने ।
  • मातृ तथा नवशिशु मृत्युदरमा कमी ल्याउन र शून्य होम डेलिभरी नगर बनाउन नगर भित्रका सबै वडाका गर्भवतीलाई नगरपालिका भित्रका सरकारी वर्थिङ्ग सेन्टरहरूमा सुत्केरी हुन सहजताका लागी निशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइने ।
  • गर्भवती तथा सुत्केरी जाँच वृद्धि गर्न र संस्थागत प्रसुती बढाउन नियमित आइरन चक्की आपूर्तिको व्यवस्थापन गरिनेछ र आयोडिनको कमी हुन नदिन गर्भवती महिलाहरूलाई आयोडिन नुन प्याकेट वितरण कार्यक्रमलाई निरन्तरता दिइने आदि जस्ता कुरा समेटिएको छ । 

त्यसै गरी नीति तथा कार्यक्रममा पशु विकास,उद्योग तथा वाणिज्य,रोजगार सेवा केन्द्र नीति, पर्यटन, सहकारी,भूमि व्यवस्था,सिंचाई,युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, महिला बालबालिका तथा जेष्ठ नागरिक, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण, पूर्वाधार विकास, भवन तथा शहरी विकास, सूचना तथा सञ्चार जस्ता कुरालाई पनि विशेष प्राथमिकताका साथ समावेश गरिएको छ ।

सम्वन्धित समाचार

https://raibaronline.com/%e0%a4%98%e0%a5%8b%e0%a4%a1%e0%a4%be%e0%a4%98%e0%a5%8b%e0%a4%a1%e0%a5%80-%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%95%e0%a4%be%e0%a5%87-%e0%a4%a8%e0%a5%80/

Share

Leave a Reply