काठमाडौं । आइतबार राति १२ बजेबाट लागू हुनेगरि नेपाल आयल निगमले पेट्रोल प्रतिलिटर २१ रुपियाँ तथा डिजेल/मट्टितेलमा २७ रुपियाँ बढाएसँगै यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा दरमा फेरि वृद्धि गरेको छ । इन्धनको मूल्य वृद्धि भएसँगै विभागले सार्वजनिक सवारीसाधन तथा मालवाहक यातायातको भाडा समायोजन गरेको हाे । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा भाडा समायोजन हुने नियम रहेको छ ।

विभागले अधिकतम ७.७ प्रतिशत भाडा वृद्धि गरेको छ । अन्तरप्रदेश सार्वजनिक यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढाइएको छ । त्यस्तै, पहाडी बाटोमा चल्ने मालवाहक सवारी साधनमा ६.९४ तथा तराईमा चल्ने मालवाहक सवारी साधनमा ७.७ प्रतिशत भाडा बढाइएको हाे ।
स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत् रहने जनाइएको छ ।














