एजेन्सी । नेपाली महिला क्रिकेट टोली मलेसियामा जारी एसीसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभल मैदानमा सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपाल लगातार तेस्रो जित सहित सेमिफाइनलमा प्रवेश गरेको हो । जितका लागि बहराइनले दिएको १५ रनको झिनो लक्ष्य पछ्याएकाे नेपालले ३ ओभर ४ बलमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो । बहराइनलाई सस्तैमा समेट्न नेपालकी कविता कुँवर र अस्मिना कर्माचार्यले समान २ विकेट लिइन् भने शवनम राईले एक विकेट लिइन् ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बहराइनले निर्धारित ७ ओभरको खेलमा ६ विकेट गुमाएर मात्र १४ रन बनाउन सक्यो । वर्षाले प्रभावित भएको खेल ७ ओभरमा छोट्याइएको हो । बहराइनका लागि इशाना सुहानको ६ रन नै सर्वाधिक रह्यो ।
समूह ‘बी’ को नेपाल तीन खेलबाट ६ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । बहराइन ३ खेलमा १ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले पराजित गरेको थियो । नेपालली भोलि हङकङसँग प्रतिस्पर्धा गर्दैछ । १० टोली सहभागी रहेको च्याम्पियनसिपमा फाइनलमा पुग्ने दुई टोलीले महिला टी २० एसिया कप क्रिकेटमा स्थान बनाउने छन् ।












