काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबार नगरसभाको ११ औं अधिवेशनमार्फत आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छ । उक्त नगरसभाले नीति तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
महानगरले सबै विद्यालयहरूमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठनपाठनलाई निरन्तरता दिनुका साथै सामुदायिक विद्यालयहरूको परिसर सुधार कार्यक्रम सञ्चालन गरिने नीति रहेको छ । साथै शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुविधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गर्ने एवं वडास्तरीय सामुदायिक सिकाइ केन्द्र मार्फत अनौपचारिक शिक्षा र सीप विकास प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिइने जनाइएको छ ।
त्यस्तै स्वास्थ्य क्षेत्रमा महानगरमा कर तिरेकाहरूको स्वास्थ्य बिमा गर्न बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गरिने एवं महानगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने विपन्न नागरिकहरूको लागि अस्पतालमा निःशुल्क बेडको प्रबन्ध हुने व्यवस्था रहेको छ । साथै एकीकृत एम्बुलेन्स सेवा सञ्चालनको ब्यवस्था , एक वर्षभित्रमा महानगर क्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गर्ने गरि नीति तथा कार्यक्रममा समेटिएको छ ।
फुटपाथको स्तरोन्नति, सस्टपहरुमा यात्रीहरूको विश्रामका लागि परम्परागत शैलीको फल्चा, सार्वजनिक शैचालायहरुलाई स्तरोन्नति गरी अपाङ्गता तथा लैङ्गिकमैत्री बनाइने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता दिनुका साथै महानगरक्षेत्रले नेवार समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तराष्ट्रिय ब्रान्डिङ गर्न पहल गरिने जनाइएको छ । फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्राेतमा नै वर्गीकरण गर्ने ब्यवस्था मिलाइ तथा फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा सो बाट उर्जा उत्पादनका लागि काठमाडौँ महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरूमा ‘वाइस्ट टु इनर्जी प्लान्ट’ जडान गर्ने गरी नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
सार्वजनिक जग्गाहरूको अतिक्रमण हटाई पार्क निर्माण गर्ने र हरेक महिनाको पहिलो आइतबार जनतासँग मेयर कार्यक्रम गर्नुका साथै महानगर ई लाइब्रेरी स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद क्लबहरूसँगको सहकार्यमा लिग प्रतियोगिताहरू आयोजना गरिने एवं ई स्पोर्ट प्रवर्द्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने जस्ता अन्य विभिन्न अन्य कार्यक्रम समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।












