डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले डोटीको बडीकेदारमा रहेको प्रसिद्ध शक्तिपीठ बडीकेदारको बहुवर्षीय योजना पदमार्गको शिलान्यास गरेका छन् । शनिबार बडीकेदार गाउँपालिका ५ स्थित प्रसिद्ध शक्तिपीठ एवम् धार्मिक पर्यटकीय स्थल बडीकेदारमा तीर्थयात्रीलाई आवत जावतको सहजताका लागि पदमार्ग तथा पूर्वाधार योजनाको शिलान्यास गरिएको हो ।
पदमार्ग निर्माणका लागि पर्यटन मन्त्रालयबाट आठ करोड रकम विनियोजन गरेसँगै शनिबार शिलान्यास गरेको बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले जानकारी दिए ।
भक्तजन तथा दर्शनार्थीहरूको सहजताका लागि पदमार्गमा १२ हजार एक फिटे सिँढीसँगै विश्रामस्थल, रेलिङ तथा शौचालय र खानेपानीको व्यवस्थापन तथा निर्माण गरिने जनाइको छ । बोगटान क्षेत्रको जङ्गलमा अवस्थित शक्तिपीठमा प्रत्येक वर्ष मङ्सिरमा धार्मिक मेला लाग्नुका साथै भक्तजनले मनले चिताएको पूर्ण हुने विश्वास रहि आएकोले हजारौँको सङ्ख्यामा दर्शनार्थी आउने गर्दछन् । पदमार्गको शिलान्यास भएसँगै याेजनाकाे समाप्ति पछि यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्नेमा देखिन्छ ।













