चौथो टी-२० सिरिजमा  दक्षिण अफ्रिका ८७ रनमा समेटिँदा भारतको सहज जित 

दक्षिण अफ्रिका र भारत बिचको टी २० सिरिज अन्तर्गत गए राति सम्पन्न चौथो खेलमा घरेलु टोली भारतले दक्षिण अफ्रिकालाई ८७ रनमा समेट्दै ८२ रनको सानदार जित हात पारेको छ । उसले पहिलोपटक दक्षिण अफ्रिकालाई फराकिलो रन अन्तरले पराजित गरेकाे हो ।

शुक्रबार राति सम्पन्न खेलमा भारतले दिएको १७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६ ओभर ५ बलमा सबै विकेट गुमाएर जम्मा ८७ रन मात्र बनाउन सक्यो । उसका लागि रस्सीभानडर दुसेनले २०, क्विन्टन डिककले १४ र मार्को जेन्सनले १२ रन बाहेक बाँकी ब्याट्सम्यानले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । टी २० दक्षिण अफ्रिकाको यो हालसम्मकै कम स्कोर हो ।

भारतका लागि आवेश खानले ४ ओभरमा १८ रन दिएर चार विकेट लिए । त्यस्तै, युजवेन्द्र चहल, अक्षर पटेल र हर्षल पटेलले समान एक विकेट हात पारे ।

राजकोटस्थित सौराष्ट्र क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङको राेजेकाे भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । उसका लागि दिनेश कार्तिक ५५ रनको पारी खेले भने हार्दिक पाण्याले ४६ रन बनाए । अन्य खेलाडीले सम्झिन लायक प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिकाका लागि बलिङमा लुंगि एन्गिडीले दुई, ड्वेन प्रिटोरियस, केशव महाराज, एनरिक नोर्टजे र मार्को जेन्सनले समान एक विकेट हात पारे ।

यस सँगै पाँच खेलको सिरिज २-२ को बराबरीमा पुगेको छ । पहिलो खेलमा पाहुना टोली दक्षिण अफ्रिका क्रमश: सात र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो । भने तेस्रो खेलमा घरेलु टोली भारत ४८ रनले विजयी भयो । अब भारत र दक्षिण अफ्रिकाबीचको अन्तिम तथा पाँचौँ निर्णायक खेल आइतबार हुनेछ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *