काठमाडौं । सँधै विवाद र चर्चामा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले मगरको पछिल्लो समय निकै अश्लिल शब्द सहितको गाली गलौजको अडियो भाइरल भइरहेको छ । तर नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्षलाई अश्लिल शब्द प्रयोग गरी तथानाम गालीगलौच गरेको उक्त अडियो प्रकाशन तथा प्रसारण गरिएका समाचार प्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको स्वकीय सचिवालयले गम्भिर ध्यानाकर्षण भएको जानकारी गराएको छ ।
शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै सचिवालयले पर्यटन मन्त्रीलाई विभिन्न बाहनामा बदनाम गर्ने गरि सञ्चार माध्यमले समाचार प्रकाशन तथा प्रसारण गरेको र मन्त्रीबाट त्यस्तो किसिमको कुनै कार्य नभएको उल्लेख गरेको छ । पर्यटन मन्त्रीले मन्त्रालयमा तथा कार्यकक्षमा बोलाई मातहतका कुनै पनि कर्मचारीलाई दुर्व्यवहार नगरेको र सिंहदरवार परिसरमा रहेका सीसीटीभी क्यामेरा कैद भएका फुटेजले सबै कुरा प्रष्ट देखाएको भन्दै आवश्यक परे मन्त्रालय र प्रशासनले सिसिटिभीको फुटेज उपलब्ध गराउन सक्ने समेत जनाइएको छ ।
निगमका कार्यकारी अध्यक्ष र पाइलटहरूको मिलेमतोमा सर्वसाधारणलाई सहजै टिकट उपलब्ध नहुने तथा बजारमा कृतिम अभाव गराई आफू निकट एजेन्सी बाट मात्रै टिकट बिक्री गर्न लगाउने गुनासो आएपछि पटक पटक सचेत गराउँदा पनि अटेरी गरेकोले सम्झाइ बुझाइ मात्र गरिएको जनाइएको गरिएको छ । साथै निगमका अध्यक्षले गोपनियताको हकको उल्लंघन गर्दै मन्त्रीसँग निगम सुधार सम्बन्धित नितान्त दुईपक्षीय वार्ता तथा संवाद रेकर्ड गरि गोपनीयता भंग गरेको आरोप समेत लगाएको छ ।















