काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । मुख्य भूमिकामा स्वस्तिमा खड्का र अर्पण थापा अभिनीत चलचित्र ुचिसो मान्छे’ एउटा ट्राभल स्टोरी हो । दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशन रहेको चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी लगायतका कलाकारको अभिनय रहेको छ। शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रलाई डिएस डिजिटल प्रालिको ब्यानरमा प्रदर्शन गरिएको हो ।
वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सुदूर पश्चिमको पहाडी जिल्ला बाजुरासम्म पुर्याउँदाकाे कथा चलचित्रमा समेटिएको छ। स्वस्तिमा सुदूरपश्चिमकी महिलाको हुलियामा देखिएकी छिन्। उनको भूमिकाका कारण पनि दर्शक फिल्म हेर्न उत्साहित छन् ।
फिल्मको पोस्टर र ट्रेलर हेरेपछि दर्शकले दिएको सकारात्मक प्रतिक्रियाले पनि फिल्म सफल हुने आशा छ ।













