एजेन्सी । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत अमेरिकासँग नेपाल ३९ रनले पराजित भएको छ । आज बिहान अमेरिकाको मुसा क्रिकेट मैदानमा सम्पन्न सिरिजको अन्तिम खेलमा अमेरिकाले दिएको २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा २ सय ६ रन मात्र बनाउन सक्यो ।
टस हारेर ब्याटिङको मौका पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनायो । उसका लागि गजानन्द सिंहले ६० बलमा ५ चौका र एक छक्कासहित सर्वाधिक ५८ रन बनाए । त्यस्तै, सुशान्त मोदानीले ८३ बलमा सात चौकाको मद्दतमा ५४ रनको योगदान दिए भने आरोन जोन्स ४३, साइतेजा मुक्कामल्ला ३६ रनको योगदान दिए ।
बलिङमा नेपालका लागि करण केसीले तीन, कप्तान सन्दीप लामिछानेले दुई, दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक विकेट लिए ।
नेपालका आरिफ शेखले कठिन समयमा टोलीका लागि अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि प्रयाप्त हुन भने सकेन । शेखले ७६ बलको सामना गर्दै तीन चौकाको मद्दतमा ६३ रन बनाए । त्यस्तै, ७२ बलको सामना गर्दै एक चौकासहित ४७ रनको योगदान दिएका सोमपाल कामीले ४४ ओभरको अन्तिम बलमा रनआउटको सिकार भए ।
सुरूवातमा नेपालले जम्मा ९३ रन बनाउँदा ५ विकेट गुमाएर खराब प्रदर्शन गरेकाे थियो । तर, छैटौँ विकेटका लागि आरिफ र सोमपाल बीच भएको १ सय ६ रनको शतकीय साझेदारीले टोलीलाई जित तर्फ अगाडि बढायाे । नेपालको तर्फबाट एकदिवसीय खेलमा छैटौँ विकेटका लागि भएको यो हालसम्मकै ठूलो साझेदारी हो ।
सोमपाल र आरिफले कीर्तिमानी साझेदारी गरे पनि अन्तिममा ती दुई खेलाडी आउट हुँदा नेपाल फेरि फिनिसिङमा चुक्यो । अन्तिममा सात रन जोड्दा मात्र ५ विकेट गुमाउँदा नेपाल ३९ रनले पराजित हुन पुग्यो ।
अमेरिकाविरुद्ध देव खनाल ३४, आसिफ शेख १८, रोहितकुमार पौडेल १६ बनाउन बहेक अन्य खेलाडी सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।
बलिङ तर्फ अमेरिकाका सौरभ नेत्रावल्कर, अलि खानले समान तीन र निसर्ग पटेल नोशुतोष केन्जिङ्गेले समान एक विकेट लिए ।
नेपालले हालसम्म १६ खेल खेल्दा सातमा जित र एक खेल बराबरी खेलेको छ । १५ अङ्कका साथ नेपाल तालिकाको पाँचौं स्थानमा छ । २४ खेलमध्ये ११ मा जित र १२ खेलमा हार सहित २३ अङ्कका साथ अमेरिका चौथो स्थानमा छ । उसले एक खेलमा अङ्क बाँडेको थियो । शीर्ष स्थानमा भने ओमान रहेको छ । उसले ३६ म्याच खेल्दा २१ मा जित र १३ खेलमा हार बेहोरेको छ ।
विश्वकप लिग-२ मा नेपालको यो आठौं हार हो ।
९० म्याच सकिँदा यस्तो बन्यो विश्वकप लिग-२ को अङ्क तालिका :

आईसीसी विश्वकप: अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित













