सरकारले गए राती १२ बजेबाट लागू हुने गरि पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पेट्रोलको मूल्य प्रति लिटर १ सय ८० रुपैयाँ हुदा खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रति सिलिन्डर २ सय रुपैयाँले बढेर १८ सय पु¥याइएको छ। पेट्रोल, डिजेल, मट्टीतेल र हवाइ इन्धन लिटरमा १० रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको भन्दै नेपाल आयल निगमले मूल्य बढाएको हो । यसअघि वैशाख ३१ गते मात्र सरकारले पेट्रोल र डिजेल लिटरमा १० रुपैयाँ बढाएको थियो । नयाँ मूल्यसँगै पेट्रोल १ सय ८० रुपैयाँ, डिजेल र मट्टीतेल १ सय ६३ रुपैयाँ लिटर पर्नेछ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ भने हवाइ इन्धन आन्तरिक को मूल्य लिटरको १ सय ६६ रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसीले) पठाएको पछिल्लो मूल्यका आधारमा आयल निगमले मूल्य समायोजन गरेको बताएको छ । समायोजनपछिको मूल्यमा पनि निगमलाई महिनामा ग्यासमा करिब तीन अर्ब, डिजेलमा करिब तीन अर्ब ४० करोड र पेट्रोलमा एक करोड रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ ।
निगमलाई मट्टीतेल, हवाई इन्धनमा भने नाफा छ। मट्टीतेलमा लिटरको २२.११ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ १३.९८ रुपैयाँ र बाह्यतर्फ ५९.८१ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ।
युक्रेनमाथि रूसी आक्रमणपछि अन्तर्राष्ट्रिय तेल बजारमा ठूलो प्रभाव परेको छ । कच्चा तेलको मूल्य उकालो लागेसँगै पेट्रोल लगायत इन्धनको भाउ बढेको हो । अर्कातर्फ आयल निगम पहिल्यैदेखि घाटामा चलिरहेको हुँदा अहिले नेपाली बजारमा इन्धनको भाउ छोटो समयमै धेरै बढिरहेको छ ।













