८८ स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन् । उनले २६ हजार ८ सय ६५ प्राप्त गर्दा वडले जम्मा १४ हजार ८ सय १७ मत मात्र प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार रण बहादुर चन्दले ९ हजार १ सय १५ मत मात्र प्राप्त गर्न सके । उपमेयरमा भने नेकपा एमालेकी कन्दकला राना विजय भइन् । रानाले गठबन्धनकी साझा उम्मेदवार शान्ति अधिकारीलाई २ हजार ८ सय ९ मतान्तरले पराजित गरिन् । रानाले १५ हजार ४ सय ७९ मत ल्याउँदा अधिकारीले १२ हजार ६ सय ७० मत मात्रै प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले भने ६ हजार ६ सय ९ मत पाएका छन् ।
उपमहानगरमा रहेका १९ ओटा वडा मध्ये ११ वडामा नेपाली काँग्रेस, ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ ।
निवर्तमान मेयर वडले पराजय पछि ‘दलगत रूपमा उम्मेदवारी दिए पनि अाफु स्वतन्त्र ढंगले प्रतिस्पर्धा गरेकाे’ बताएका छन् ।












