सुदूरपश्चिम सरकारकाे बजेट : खेलकुद परेन प्राथमिकतामा

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै पौने ३७ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावलले आज ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रुपैयाँको बजेट संसद् पेश गरेका हुन् । 

सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै साढे ६ अर्ब बढाएर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । चालु तर्फ १२ अर्ब २९ करोड ५९ लाख र पूँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको हाे । 

त्यस्तै प्रदेश भित्रमा खानेपानी संरचना निर्माण तथा पुनःनिर्माणका लागि एक अर्ब ६७ करोड ९७ लाख, स्वास्थ्य सेवा सुधारका लागि एक अर्ब ६ करोड २६ लाख र शिक्षाका लागि एक अर्ब २३ करोड ७३ लाख बजेट विनियोजन गरिएको छ । 

तर प्रदेश सरकारले विनियोजन गरेको बजेटमा खेलकुद प्राथमिकतामा पर्न सकेन । अघिल्लो आर्थिक वर्षको भन्दा बजेट बढाइएको भए पनि खेल क्षेत्रका लागि पर्याप्त हुने देखिएको छैन । यस आर्थिक वर्षका लागि प्रदेश सरकारले १६ करोड २० लाख बजेट खेलकुद क्षेत्रमा विनियोजन गरेको छ ।

राष्ट्रिय खेलकुदको तयारी र खेलाडी छनोटका लागि ९० लाख विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रका लागि भने ६ अर्ब बढी बजेट विनियोजन गरिएको छ । यस्तै डोटी र डडेल्धुरा जिल्लाका यातायात कार्यालयबाट अब सबै सेवा सञ्चालन गरिने भएको छ । ती कार्यालयबाट लाइसेन्स वितरणदेखि कर बुझाउन पनि पाइने समेत जानकारी दिइएको छ ।

सरकारले प्रदेशका गौरवका आयोजना, बहुवर्षीय ठेक्कामार्फत सञ्चालित योजनाको काम आगामी वर्षभित्रै सम्पन्न गर्ने गरी बजेट ल्याएको जनाएको छ । सडक पूर्वाधारमा मात्रै पाँच अर्ब भन्दा बढी बजेट विनियोजन  गरिएको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *