एजेन्सी । आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय शृङ्खलामा नेपालले ओमान विरुद्ध ७ विकेटको सानदार जित हात निकालेकाे छ । आज बिहान अमेरिका स्थित मोसा क्रिकेट मैदानमा सम्पन्न खेलमा ओमानले दिएको एक सय ६४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले ३३ ओभर एक बलमा मात्र तीन विकेट गुमाएर जीत निकालेकाे हाे ।
नेपालको जितमा ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय पारी खेल्दै टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । शेखले सर्वाधिक ६२ र भुर्तेलले ५६ रनको अर्धशतकीय इनिङ खेले । त्यस्तै उपकप्तान रोहित कुमार पौडेल २६ र दिपेन्द्रसिंह ऐरी ६ रनमा अविजित रहे ।
बलिङ तर्फ ओमानका फययाज वुटले दुई तथा खवर अलिले एक विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको ओमान ४६ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ६३ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान जिशान मकसुदले सर्वाधिक ५२ रन बनाउँदा सन्दीप गौडले ४७ रन बनाए भने बाँकी ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहन सकेन ।
नेपालका करण केसीले उत्कृष्ट बलिङ गरे । उनले नौ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कप्तान सन्दीप लामिछानेले तीन तथा दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान एक विकेट लिए ।
जितसँगै नेपालले एक स्थान सुधार गरेको छ । नेपाल १५ खेलमा ७ मा जित, ७ मा हार र एक बराबरी सहित १५ अङ्कका साथ पाँचौँ स्थानमा छ । अङ्क तालिकामा ओमान ४४ अङ्ककासाथ शीर्ष स्थानमा रहेको छ भने स्कटल्यान्ड २८ अङ्कसहित दोस्रो, यूएई २६ अङ्कका साथ तेस्रो, अमेरिका २१ अङ्कका साथ चौथो स्थानमा रहेका छन । यस्तै नामिबिया १४ अङ्कका साथ छैटौँ पपुवा न्युगिनी २ अङ्कका साथ पुछारमा छ । नेपालले आज घरेलु टोली अमेरिकासँग खेल्नेछ ।














