युइएफए नेसन्स लिग: पोर्चुगलसँग स्विट्जरल्याण्ड र चेक रिपब्लिकविरुद्ध स्पेन विजयी

युइएफए नेसन्स लिग अन्तर्गत गएराति भएको खेलमा स्विट्जरल्याण्डसँग पोर्चुगल १-० गोलअन्तरले पराजित भएको छ । क्रिस्टियानो रोनाल्डो बिनानै मैदान उत्रिएको पोर्चुगललाई पराजित गर्न घरेलु टोली स्विट्जरल्याण्डका हरिस सेफेरोभिकले खेलको पहिलो मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । बाँकी समय दुवै टोलीले गोलका अवसर बनाए पनि सदुपयोग गर्न भने सकेनन् ।

चोटका कारण मैदान बाहिर रहेका रोनाल्डोका समर्थकले हिजोको खेलमा उनको आवश्यकता महसुस गरे । हारसँगै समूह ‘ए’ २ को शीर्षस्थानमा उक्लने मौका गुमाएको पोर्चुगल ४ खेलमा ७ अङ्क जोडेर दोस्रो स्थानमा रहँदा स्विट्जरल्याण्ड ३ अङ्कसहित पुछारमा रहेको छ ।

यस्तै गएराति नै भएको ‘ए’ समूह -२ अन्तर्गतको अर्को खेलमा घरेलु टोली स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले पराजित गर्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ला रोजालेडा स्टेडियममा भएको खेलमा स्पेनलाई जित दिलाउन कार्लोस सोलरले खेलको २४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । ७५ औँ मिनेटमा पाब्लो साराबियाले अर्को गोल गर्दै टोलीलाई  २-० को अवस्थामा पुर्‍याए ।
यो जितसँगै स्पेन चार खेलमा आठ अङ्क जोड्दै शीर्ष स्थानमा उक्लिँदा पराजित चेक रिपब्लिक समान खेलबाट ४ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *