आईसीसी विश्वकप लिग २ छनोट अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पाहुना टोली ओमानले घरेलु टोली अमेरिकालाई १३ रनले पराजित गरेको छ । आज बिहान सम्पन्न खेलमा विजय भएसँगै जारी सिरिजमा ओमानको यो लगातार दोस्रो जित हो । उसले सिरिजको पहिलो खेलमा नेपाललाई पनि १३ रनले नै पराजित गरेको थियो ।
ओमानले दिएको दुर्इ सय ८१ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६७ रन मात्र बनाउन सक्यो । उसका लागि आरोन जोन्सले ९७ तथा स्टिभन टेलरले ७९ रनको उत्कृष्ट पारी खेले पनि टोलीलाई जित दिलाउन भने सकेनन् । त्यस्तै निसर्ग पटेलले ३७, नोसतुष केन्जिङ्गेले अविजित २२ रन बनाउँदा बाँकी ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङमा ओमानका कप्तान जीशान मक्सूद चार, बिलाल खानले, कलीमुल्लाह र नेस्टर धम्बाले समान एक विकेट हात पारे ।
पेयरल्याण्ड स्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय ८० रन बनायो । उसका लागि कश्यप प्रजापतिले सानदार शतकीय पारी खेले । उनले १ सय १५ बलको सामना गर्दै आठ चौका र एक छक्काको साथमा १ सय ३ रन बनाए ।
त्यस्तै, जतिन्दर सिंहले ६७, सोयब खानले ५१, कप्तान जीशान मक्सूदले ३५, कलीमुल्लाहले आठ र सुजर कुमारले अविजित सात रन रनको योगदान गरे । अमेरिकाका लागि सौरभ नेत्रावल्कर, क्यामरुन स्टिभसन, रस्टी थोरे र नोसतुष केन्जिङ्गेले समान एक विकेट लिए ।
आईसीसी विश्वकप लिग २ मा अमेरिकाको यो १२ औं हार हो । उसले २३ खेल खेल्दा १० मा जित र एक खेलमा अङ्क बाँडेको छ ।
ओमानले भने २५ खेल खेल्दा २१ मा जित र १२ खेलमा मात्र हारको सामना गरेको छ । उसले दुई खेलमा अङ्क बाँडेको छ । ४४ अङ्कसहित ओमान तालिकाको शीर्ष स्थानमा रहँदा अमेरिका २६ अङ्कसहित चौथोमा छ । १४ म्याच मात्र खेलेको नेपाल १३ अङ्कसहित तालिकाको छैटौँ स्थानमा छ । नेपालले आफ्नो १५ औं खेल मंगलबार ओमान विरुद्ध खेल्दैछ ।













