वेस्टइन्डिजसँगकाे एकदिवसीय शृङ्खला पाकिस्तानले आफ्नो पक्षमा पारेको छ । गएराती सम्पन्न दोस्रो खेलमा घरेलु टोली पाकिस्तानले एक सय २० रनको फराकिलो जित निकाल्दै शृङ्खला एक खेल अगावै जितेको हाे । मुल्तान क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुर्इ सय ७५ रन बनायाे । उसका लागि कप्तान बाबर आजमले सर्वाधिक ७७ र इमाम उल हक ७२ रन बनाउन सके । वेस्टइन्डिजका अकिल हुसैनले तीन तथा एन्डरसन फिलिप र अल्जारी जोशेफले समान दुई विकेट लिए ।
जबाफी ब्याटिङ गरेको वेस्टइन्डिज ३२ ओभर दुर्इ बलमा सबै विकेट गुमाएर एक सय ५५ रनमा समेटियो । उसका लागि शम्राह ब्रुक्सले सर्वाधिक ४६ रन बनाउनु बाहेक अन्यले सम्झन लायक प्रदर्शन गर्न सकेनन् । बलिङ तर्फ पाकिस्तानका मोहम्मद नवाजले चार विकेट लिए । त्यस्तै मोहम्मद वासिम जुनियरले तीन, सादब खानले दुई र शाहिन अफ्रिदीले एक विकेट लिए ।
पाकिस्तानले पहिलो खेलमा वेस्टइन्डिजलाई पाँच विकेटले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम एकदिवसीय खेल भोलि आइतबार हुनेछ ।













