यूईएफए नेशन्स लिग फुटबलमा गएराती सम्पन्न खेलमा क्रोएसियासँग डेनमार्क १-० गोल अन्तरले पराजित भएको छ । ६९ औँ मिनेटमा क्रोएसियाका मारियो पासालिकले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अन्तत: उक्त गोल नै क्रोएसियाको जितका लागि पर्याप्त भयो । जितसँगै क्रोएसिया ४ अङ्कसहित तेस्रो स्थानमा रहेको छ । यस्तै लिगको समूह ’१’ मा रहेको डेनमार्क तीन खेलमा ६ अङ्क जोडेर शीर्षस्थानमा छ ।
यस्तै लिगको समूह ’१’ मै रहेका फ्रान्स र अष्ट्रियाले १-१ गोलको बराबरी खेलेका छन् । ३७ औँ मिनेटमा अष्ट्रियाका लागि एन्ड्रिएस वेइमानले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर खेलको ८३ औँ मिनेटमा परिवर्तित खेलाडी केलियन एमबाप्पेले गोल गर्दै खेल बराबरीमा पुर्याए । अन्तत: उक्त गोलले नै फ्रान्सलाई अस्ट्रियासँगको खेलमा हारबाट जोगायो ।
यो बराबरीसँगै अष्ट्रिया तीन खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा रहँदा चौथो स्थानमा रहेको फ्रान्सको तीन खेलमा दुई अङ्क रहेको छ ।













