आईसीसी विश्वकप क्रिकेट लिग २ को एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत ओमानसँग आज बिहान अमेरिकाको ह्युस्टनस्थित मौसा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा नेपाल १३ रनले पराजित भएको छ ।
ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपालले ४९ ओभर ४ बलमा सबै विकेट गुमाएर जम्मा १ सय ९८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले ७९ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ६६ रन बनाए । त्यस्तै, देव खनालले ३४, रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र सुनिल धमलाले १२ रन बनाए भने बाँकी ब्याट्सम्यानले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बलिङमा ओमानका लागि खावर अली र जीशान मक्सूदले तीन/तीन, बिलाल खानले दुई र अयान खानले एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेकोे ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन बनायो । उसका लागि कप्तान जीशान मक्सूदले शतकीय पारी खेले । १२६ बलको सामना गरेका उनले १२ चौकासहित १०४ रन बनाए । त्यस्तै, खावर अलीले ३०, सोयब खानले २७, सुरज कुमारले १२ र जतिन्दर सिंहले ११ रनको योगदान दिए ।
नेपालका लागि करण केसीले १० ओभरमा ३८ रन दिएर सर्वाधिक ५ विकेट लिए । त्यस्तै, सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट लिए । विश्वकप लिग २ मा नेपालको यो सातौँ हार हो । नेपालले १३ म्याच खेल्दा ६ खेलमा मात्र जित हात पारेको छ ।
ओमानले भने ३४ म्याच खेल्दा २० मा जित र १२ खेलमा हारको सामना गरेको छ । उसले एक खेल बराबरी खेल्दा एक म्याचमा अङ्क बाँडेको छ । नेपालले त्रिकोणात्मक सिरिज अन्तर्गत दोस्रो खेल शनिबार अमेरिकाविरुद्ध खेल्नेछ ।













