भारत र दक्षिण अफ्रिकाबीचको टी २० सिरिजको पहिलो खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई ७ विकेटले पराजित गरेको छ । गए रातीको खेलमा भारतले दिएको २ सय १२ रनको विशाल कीर्तिमानी लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि डेविड मिलर र रस्सीभानडर दुसेनले शानदार प्रदर्शन गरे । मिलरले ३१ बलमा चार चौका र पाँच छक्कासहित अविजित ६४ रनको योगदान दिँदा दुसेनले ४६ बलको सामना गर्दै सात चौका र पाँच छक्काको मद्दतमा अविजित ७५ रनको पारी खेल्दा टोलीलाइ सहज जित प्राप्त भयो ।
दुसेन र मिलरले चौथो विकेटका ६४ बलको सामना गर्दै अविजित १ सय ३१ रनको साझेदारी गरे । त्यस्तै, ड्वेन प्रिटोरियसले २९ रन रनको बनाउँदा विकेट किपर क्विन्टन डिककले २२ रनको योगदान गरे । बलिङ तर्फ भारतका लागि हर्षल पटेल, अक्षर पटेल र भुवनेश्वर कुमारले समान एक विकेट लिए ।
त्यसअघि दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको मौका पाएको भारतले निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाएर २ सय ११ रन विशाल आँकडा खडा गरेको थियो । उसका लागि इशान किशनले उत्कृष्ट पारी खेले । उनले ४८ बलको सामना गर्दै ११ चौका र तीन छक्कासहित ७६ रन बनाए ।
त्यस्तै, श्रेयस अय्यरले ३६, कप्तान ऋषभ पन्तले २९, हार्दिक पाण्ड्याले अविजित ३१ र ऋतुराज गायकवाडले २३ रनको योगदान दिए । बलिङमा दक्षिण अफ्रिकाका लागि केशव महाराज, ड्वेन प्रिटोरियस, वार्ने पावेल र एनरिक नोर्टजेले एक/एक विकेट लिए । यो जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले १-० को अग्रता बनाएको छ । भारत-दक्षिण अफ्रिकाबीचको दोस्रो टी २० आइतबार हुनेछ ।













