कैलाली । विशेष अदालतमा भ्रष्टाचार विरुद्ध दायर मुद्दा विचाराधीन अवस्थामा निर्वाचित कैलालीकाे मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र पठाएको छ । मंगलबार विज्ञप्ति जारि गर्दै उपाध्याय स्वत: निलम्बन भएकाे र त्यसका कार्यन्वयन गर्न सम्बन्धित सबैलार्इ आयोगले अाग्रह गरेकाे छ ।
उपाध्याय विरुद्ध यस अघि गाउँपालिकाको वर्डा नं.२ को वडाध्यक्ष रहेका बेला भ्रष्टाचार गरेको भन्दै गत वैशाख २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकै बेला बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट गा.पा अध्यक्षमा निर्वाचित भएका हुन् । तर आयोगले उनकाे सपथग्रहण भने रोकेको थियो ।
केही समयपछि भने उनले सपथग्रहण गरे पनि काम गर्न नपाउने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताएका थिए ।
सपथग्रहण पश्चात आयोगले पुनः उनलाई निलम्बनमा राख्न सम्बन्धित निकायलाई पत्र काटेको थियो । भ्रष्टाचार विरुद्धको मुद्दा विचाराधीन अवस्थामा रहेका बेला स्थानीय तहमा जनप्रतिनिधि चुनिएको भन्दै अख्तियारले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र लेखेको हाे ।
उपाध्यायविरुद्ध विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा विचाराधीन अवस्थामा रहेको र मुद्दा किनारामा नपुगेसम्म स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न तथा गराउन भनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाएको अख्तियारका सहायक प्रवक्ता वेदप्रकाश भण्डारीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।













