पूर्व कलेज प्रमुख भण्डारीको निधनमा शोक बिदा

कैलाली । राष्ट्रिय कलेज सुखडका पूर्व कलेज प्रमुख कर्णबहादुर भण्डारीको निधनमा घोडाघोडी बहुमुखी क्याम्पसले आइतबार शोक बिदा दिएको छ । घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराइले एक सूचना मार्फत् शोक बिदा दिइएको जानकारी दिएका हुन् ।

स्वर्गीय भण्डारी घोडाघोडी बहुमुखी क्याम्पसको विशिष्ट चन्दादाता, आजीवन सदस्य, राष्ट्रिय कलेज सुखडमा लामो समय क्याम्पस प्रमुखको भूमिकामा रही मुर्धन्य शैक्षिक व्यक्तित्व भएको जारी शोक वक्तव्यमा उल्लेख छ । स्वर्गीय भण्डारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको सम्मानमा जेठ ४ गते क्याम्पसमा सञ्चालित सम्पूर्ण शैक्षिक प्रशासनिक कार्य बन्द रहने गरी शोक बिदा दिइएको क्याम्पस प्रमुख भट्टराइले बताए ।

मृतक भण्डारीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि राष्ट्रिय कलेज सुखडको परिसरमा राखिएको छ । उनको आजै महाकाली नदीमा अन्तिम संस्कार गरिने नेपाल राष्ट्रिय शिक्षक संगठनका कैलाली अध्यक्ष प्रभुनाथ रिमाल जैशीले बताए । घोडाघोडी नगरकै शैक्षिक व्यक्तित्व स्वर्गीय भण्डारीले कलेज स्थापनामा महत्वपूर्ण ठूलो भूमिका रहेकाले उहाँको योगदानलाई घोडाघोडीबासीले कहिल्यै बिर्सन नसक्न राष्ट्रिय कलेज सुखडका व्यवस्थापन समिति अध्यक्ष खगेन्द्र हमालले बताए ।

यस्तै, घोडाघोडी नगरपालिकाका पूर्व नगरप्रमुख ममताप्रसाद चौधरीले शैक्षिक, प्राज्ञिक व्यक्तित्व भण्डारीको निधनले अपूरणीय क्षति भएको प्रतिक्रिया दिएका छन् । उनले शैक्षिक क्षेत्र र नजिकैका क्याम्पसको स्थापनामा स्वर्गीय भण्डारीले खेलेको भूमिका अतुलनीय रहेको बताए । शुक्रबार बिहानको हावाहुरीबाट रुख ढलेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो । चोट लाग्नासाथ उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएका उनको निधन भएको थियो ।

Share