स्ववियु निर्वाचन : घोडाघोडीमा क्रान्तिकारीको विरासत भत्काउँदै अनेरास्ववियुकाे जित

सुखड । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियु र नेवि संघका सयुक्त प्यानलका उमेदवार अशाेक गाैतम प्यानल सहित विजयी भएका छन्।  माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको विरासत भत्काउँदै एमाले निकट अनेरास्ववियुले जित दर्ता गरेको हाे। अनेरास्ववियुले घोडाघोडीमा स्ववियु निर्वाचनको इतिहासमै पहिलो जित दर्ता गरेको छ। कैलालीमा त्रिवि अन्तर्गतकाे यस वर्षकाे स्ववियु निर्वाचनमा अनेरास्ववियुले पहिलो जित दर्ता गर्न सफल भएको हो।

गाैतम ६ सय ७० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गणेश भण्डारीले ४ सय २८ मत प्राप्त गरे। बिप्लब निकट अखिल समाजवादीबाट उम्मेदवार याम बहादुर खत्रीले जम्मा १० मत मात्रै पाए।

यस्तै सचिवमा पनि नेवि संघ र अनेरास्ववियुबाट उम्मेदवार बनेका प्रविन सिंहले आफ्ना निकटतम प्रतिद्वन्द्वी भुवनराज जैशीलाई ६५ मतले पराजित गर्दै विजयी भए। विजयी सिंहले ५ सय ५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्दि भुवनराज जैशीले ४ सय ९० मत प्राप्त गरे। सचिवमै समाजवादीकी कल्पना कुमारी थापाले भने ४० मत प्राप्त गरिन।

त्यसै गरी कोषाध्यक्षमा अनेरास्ववियुकै सञ्जीव कुमार चौधरी विजयी भए। उनले ५ सय ६९ मत हात पर्दा क्रान्तिकारीकी यलिशा कुमारी कुँवर ४ सय १६ प्राप्त गरिन् भने समाजवादीकी गरिमा चौधरी ८१ ले मत पाइन।

सदस्य तर्फ क्रान्तिकारीका रोशन चौधरी ४ सय ९९ मतका साथ विजयी हुँदा बाँकी ६ सदस्य नेवि संघ र अनेरास्ववियुकाे संयुक्त प्यानलबाट विजयी भए। जसमा गोविन्द चौधरी ६ सय २८, रमेश चौधरी ६ सय ४, पद्मा शाही ५ सय ३६, खिमा साउद ६ सय ६८, अनिता वि.क ५ सय ३० र सुवास चौधरीले ५ सय ७९ मत प्राप्त गरे। 

घाेडाघाेडी बहुमुखी क्याम्पसमा १६ सय ९१ मतदाता रहेकोमा हिजाे चैत्र २३ गते शनिवार सम्पन्न स्ववियु निर्वाचनमा ११ सय २६ ले मतदान गरेका थिए। जसमा ११ सय १२ मत सदर हुँदा १२ मत बदर तथा २ मत निविदा रहेको घाेडाघाेडी बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन संयोजक विनोद कुमार खड्काले जानकारी दिए।

यस अघि चैत ५ गते अन्तिम मतदाता नामावलीमा विवाद उत्पन्न भएपछि निर्वाचन स्थगित भएको थियो। फलस्वरूप चैत २३ गते निर्वाचन सम्पन्न भएको थियो।

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ र एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबीच चुनावी तालमेल हुँदा नेकपा माओवादी निकट अखिल क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियू बीच पनि चुनावी तालमेल भएको थियो। जसमा नेवि संघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट सभापतिको उम्मेद्वार बनेका अशोक प्यानल सहित विजयी भएका छन्। 

समानुपातिक तर्फ भने मतगणना भइरहेकाे जनाइएकाे छ ।

Share