सुखड । कैलालीको घोडाघोडी नगरपालिका-१ मा रहेको सुखड दरख खानेपानी संस्थाले वितरण गर्दै आइरहेको खानेपानीमा देखिएको समस्या अझै केहि दिन यथावत् रहने भएको छ । खानेपानी संस्थाको घोडाघोडी नगरपालिका वडा-१, सुखड र वडा-२, साडेपानीमा गरी दुई ठाउँमा ट्याङ्की रहेको छ । सोही खानेपानीमा ३ दिनदेखि यता समस्या देखिएको छ ।
धारामा पानी आधा/एक घण्टा मात्रै आउने गरेको छ । अाएकाे दिनमा समेत लेदो सहितको धमिलो पानी आउनाले उपभोक्ताहरु सास्ती झेल्दै आएका छन् ।
वडा नं २ साडेपानीमा रहेको ट्याङ्की सफा गर्ने कार्य चलिरहेका कारण यो समस्या आएको र अझै दुई तीन दिनसम्म जान सक्ने संस्थाले जानकारी दिएको छ । उक्त स्थानको अन्डर ग्राउण्ड ट्याङ्की सफा गर्नुपर्ने भएकाले आफूहरुले त्यो सफाई गराई रहेका कारण यो समस्या आउन पुगेको सुखड दरख खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा अध्यक्ष निरज मल्लले जानकारी दिए । ‘साडेपानीमा रहेको अन्डर ग्राउण्ड ट्याङ्की सफा हुँदैछ, त्यो अझै दुई तीन दिनसम्म जान सक्छ, त्यस कारण पानीमा केहि दिन अझै समस्या हुनसक्छ, माथिका ओभर हेड ट्याङ्की पहिले सफा गरिसकेका हुन्,’ अध्यक्ष मल्लले भने, ‘त्यो अन्डर ग्राउण्ड ट्याङ्की फोहोर भएका कारण पानी धमिलो आउने समस्या थियो । हाल एउटै सुखडको ट्याङ्कीबाट पानी वितरण गरिरहेकाले पानीको समस्या उपभोक्ताले झेल्नु परेको हो । अब दुई तीन दिनसम्म यो समस्या आएपनि त्यसपछि भने पानी आफ्नै लयमा आइहाल्छ ।’
बेला बखत पानी ट्याङ्की सफा गर्नुपर्ने भएका कारण आफूहरुले समय मिलाएर सधैं सफा गर्ने गरेको पनि अध्यक्ष मल्लले जानकारी दिए । अचेल पानीको खपत कम हुने भएकाले दुई घण्टा जति पानी दिने गरेको उनले बताए । ‘समय मिलाएर ट्याङ्की सफा गर्नुपर्ने हुन्छ, चिसो महिना पानी त्यति धेरै आवश्यक नपर्ने हुनाले दुई घण्टा जति पानी दिने गरेका थियौं,’ उनले भने, ‘ट्याङ्की फोहोर भएका कारण सफा नगरे पनि फेरी उपभोक्ताको स्वास्थ्यमा समस्या हुने उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्न मिल्दैन्, त्यही भएर दुई तीन दिन यने समस्या अझै कायम रहने हुन सक्छ ।’
साडेपानीको अन्डर ग्राउण्ड ट्याङ्की सफा हुने बित्तिकै नियमित खानेपानी सञ्चालन हुने उपभोक्ता समितिले बताएको छ ।












