कैलाली । एकदिवसीय ढाँचाको क्रिकेटमा ‘मिनि विश्वकप’ का रुपमा परिचित आईसीसी च्यान्पियन्स ट्रफीको नवौँ संस्करण फेब्रुअरी १९ तारिखदेखि सुरु हुँदैछ । प्रतियोगिता पाकिस्तान र यूएईमा संयुक्त रुपमा आयोजना हुनेछ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।
बंगलादेश, भारत, न्युजिल्यान्ड र आयोजक पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । समूह ‘बी’ मा भने अफगानिस्तान, अस्ट्रेलिया, इङ्ल्यान्ड र दक्षिण अफ्रिका परेका छन् । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता पाकिस्तान र न्युजिल्यान्डबिच कराँचीमा हुने भएको छ ।
प्रतियोगिताको मिति नजिकिएसँगै सहभागी टोलीहरु अन्तिम तयारीमा व्यस्त छन् । तर, यस पटक च्याम्पियन्स ट्रफीमा विश्व क्रिकेटका केही चर्चित हस्ती खेलाडीलाई देख्न भने पाइने छैन् । च्याम्पियन्स ट्रफीअघि नै केही प्रभावशाली खेलाडी घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।
केही चर्चित खेलाडी भने व्यक्तिगत र घरायसी समस्याका कारण प्रतियोगिताबाट बाहिरिएका हुन् । घाइते भएका कारण केही चर्चित खेलाडीको सहभागिता भने अझै अन्यौल मै छ । यसरी च्याम्पियन्स ट्रफीबाट बाहिरिनेमा अफगानिस्तानदेखि विश्वकप विजेता अष्ट्रेलियासम्मका खेलाडीहरु रहेका छन् ।
प्रारम्भिक टोलीमा परेर पनि अन्तिम समयमा च्याम्पियन्स ट्रफीबाट बाहिरिएका र चोटका कारण सहभागिता अन्योलमा परेका खेलाडीहरुको बारेमा यहाँ चर्चा गरिएको छ ।
अफगानिस्तान
अफगानिस्तानी टोलीका युवा बलर अल्लाह गजनफर घाइते भएका कारण च्याम्पियन्स ट्रफीको नवौँ संस्करणबाट बाहिरिएका छन् । १८ वर्षीय क्षमतावान युवा स्पिनर गजनफरबाट अफगानिस्तानले च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शनको आशा गरेको थियो । तर, चोटका कारण उनी बाहिरिएका हुन् ।
अफगानिस्तान क्रिकेट बोर्डले गजनफरको स्थानमा नाङग्याल खरोटीलाई टोलीमा स्थान दिएको छ । गजनफरले अफगानिस्तानका लागि एकदिवसीयसँगै टेस्ट क्रिकेट पनि खेलिसकेका छन् । उनले ११ एकदिवसीय अन्तर्राष्ट्रियमा कुल २१ विकेट लिएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन २६ रन दिएर ६ विकेट हो । उनले देशका लागि खेलेको एकमात्र टेस्टमा पनि चार विकेट हात पारेका छन् । घरेलु प्रतियोगितामा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
अफगानिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको समाचार अनुसार, चोटका कारणले गजनफर च्याम्पियन्स ट्रफीबाट बाहिरिएका हुन् । गजनफर अफगानिस्तानको जिम्बाबे भ्रमणका क्रममा पिठ्यूँको चोटबाट पिडीत बनेका थिए । उनी कम्तिमा पनि चार महिना मैदानबाट बाहिर रहने पनि बोर्डले जनाएको छ ।
अष्ट्रेलिया
दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि चुमिसकेको अष्ट्रेलियाका केही प्रभावशाली खेलाडी पनि आगामी च्याम्पियन्स ट्रफीमा उपस्थित हुने छैनन् । खासगरी, चर्चित तिब्र गतिका चर्चित बलरहरु अष्ट्रेलियन टोलीमा रहने छैनन् ।
जसमा प्याट कमिन्स र जस हेजलउड चोटका कारण टोलीबाट बाहिरिएका छन् । यी दुबै प्रभावशाली खेलाडी केही समयअघि घाइते भए पनि हालसम्म पूर्णरुपमा स्वस्थ्य भइसकेका छैनन् । अर्का चर्चित खेलाडी मिचेल स्टार्कले पनि व्यक्तिगत समस्याका कारण प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका छन् ।
यसैगरी, तिब्र गतिका बलर तथा अनुभवी अलराउन्डर मार्कस स्टोइनिसले पनि च्याम्पियन्स ट्रफीअघि नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । च्याम्पियन्स ट्रफीका लागि घोषित टोलीमा परे पनि उनले फेब्रुअरी ६ तारिखमा सन्न्यास घोषणा गरेका थिए ।
यसका अतिरिक्त, मिचेल मार्शले पनि आगामी च्याम्पियन्स ट्रफी खेल्ने छैनन् । पिठ्यूँको चोटका कारण उनी प्रतियोगिताबाट बाहिरिएका हुन् । च्याम्पियन्स ट्रफी मात्र होइन, उनले यो सिजन अन्य प्रतियोगिता खेल्ने सम्भावना पनि निकै कम रहेको बताइएको छ ।
त्यसैगरी, अष्ट्रेलियन टोलीका अर्का प्रभावशाली अलराउन्डर क्यामरुन ग्रिन पनि आगामी च्याम्पियन्स ट्रफीमा अनुपस्थित रहने छन् । क्रिकेट अस्ट्रेलियाका अनुसार, उनी लामो समयदेखि पिठ्यूँको समस्याबाट पिडीत रहँदै आएका छन् ।
इङ्ग्ल्यान्ड
इङ्ग्ल्यान्डका एक अनुभवी खेलाडी पनि आगामी च्याम्पियन्स ट्रफीमा अनुपस्थित रहने छन् । ज्याकब बेथेल चोटको समस्याका कारण प्रतियोगिताबाट बाहिरिएका हुन् । हाल इङ्ग्ल्यान्डको टोली भारत भ्रमणमा छ ।
भारत भ्रमणकै क्रममा खेलिएको एकदिवसीय शृंखलाका क्रममा उनी घाइते भएका थिए । उनको मांसपेशीमा समस्या देखिएको इङ्ग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले जनाएको छ । बेथेललाई पूर्णरुपमा स्वस्थ्य हुन अझै केही समय लाग्ने बताइएको छ ।
भारत
दुई पटक च्याम्पियन्स ट्रफीको उपाधि कुम्ल्याइसकेको भारतले पनि आगामी च्याम्पियन्स ट्रफीमा एक प्रभावशाली खेलाडी गुमाएको छ । भारतीय टोलीका अनुभवी बलर जसप्रित बुमराहले आगामी च्याम्पियन्स ट्रफी नखेल्ने पक्का भएको छ ।
बुमराह लामो समयदेखि पिठ्यूँको समस्याबाट पिडित छन् । च्याम्पियन्स ट्रफीअघि नै उनी स्वस्थ्य भइसक्ने अनुमान गरिएको थियो । तर, चिकित्सकहरुले उनलाई पूर्णरुपमा स्वस्थ्य हुन अझै केही समय लाग्ने बताएका छन् । उनी भारतको अष्ट्रेलिया भ्रमणका क्रममा घाइते भएका थिए ।
न्युजिल्यान्ड
च्याम्पियन्स ट्रफीअघि न्युजिल्यान्डका पनि दुई प्रभावशाली खेलाडी घाइते छन् । ३३ वर्षीय दायाँ हाते तिब्रगतिका बलर लोकी फर्गुसन ह्यामस्ट्रिङ समस्याबाट पिडित छन् । उनी फ्रेन्चाइज प्रतियोगिता आईएल टी–२० का क्रममा फेब्रुअरीको पहिलो साता घाइते भएका थिए ।
यद्दपि, उनलाई न्युजिल्यान्डले च्याम्पियन्स ट्रफीका लागि घोषित अन्तिम टोलीमा पनि यथावत राखेको छ । उनी अहिले पनि चिकित्सकको रेखदेखमा छन् । तर, उनको च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना निकै कम रहेको बताइएको छ ।
न्युजिल्यान्डको टोली हाल त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्न पाकिस्तान भ्रमणमा रहेको छ । पाकिस्तान भ्रमणकै क्रममा न्युजिल्यान्डका अर्का युवा खेलाडी रचिन रविन्द्र पनि घाइते भएका छन् । उनी फेब्रुअरी ८ तारिखमा खेलिएको पाकिस्तानविरुद्धको खेलका क्रममा घाइते भएका थिए ।
उक्त खेलमा फिल्डिङ गर्ने क्रममा उनी चोट ग्रस्त बनेका थिए । उनलाई पनि न्युजिल्यान्डले टोलीमा यथावत राखेको छ । न्युजिल्यान्ड क्रिकेट बोर्डले च्याम्पियन्स ट्रफीअघि नै यी क्षमतावान ब्याट्सम्यान स्वस्थ्य भइसक्ने विश्वास लिएको छ । उनको पनि च्याम्पियन्स लिग सहभागिता अन्योलमै छ ।
पाकिस्तान
च्याम्पियन्स लिगको नवौँ संस्करणको मुख्य आयोजक पाकिस्तानका एक प्रभावशाली खेलाडी हरिस राउफ पनि अहिले घाइते अवस्थामा छन् । घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय शृंखलाका क्रममा उनी चोट ग्रस्त बन्न पुगेका थिए ।
उनी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा ११ दिन पहिले घाइते भएका हुन् । यद्दपि, उनलाई पाकिस्तान क्रिकेट बोर्डले अझै टोलीमा राखेको छ । तर, उनले च्याम्पियन्स ट्रफीको नवौँ संस्करण खेल्न सक्ने सम्भावना निकै कम रहेको बताइएको छ ।
दक्षिण अफ्रिका
च्याम्पियन्स ट्रफीको नवौँ संस्करणअघि दक्षिण अफ्रिकी टोली पनि खेलाडी घाइेत हुने समस्याबाट पिडित नै देखिएको छ । एनरिच नोर्खिए गत डिसेम्बरदेखि नै खेल मैदानबाट टाढा छन् । पिठ्यूँको समस्याका कारण उनी च्याम्पियन्स ट्रफीबाट पनि बाहिरिसकेका छन् ।
दक्षिण अफ्रिकी क्रिकेट बोर्डले नोर्खिएको स्थानमा जेराल्ड कोएट्जीलाई टोलीमा समावेश गर्ने योजना बनाएको थियो । उनी त्रिणोत्मक एकदिवसीय शृंखला खेल्न पाकिस्तान भ्रमणमा पनि आएका थिए । तर, पाकिस्तान भ्रमणका क्रममा उनी पनि ग्रोइन समस्याबाट पिडित बन्न पुगेका छन् ।
च्याम्पियन्स ट्रफीका लागि गत जनवरीमा घोषित टोलीमा परेका खेलाडीहरुको बारेमा मात्र यहाँ उल्लेख गरिएको हो । यसका अतिरिक्त, शकिब अल हसन, मजिब उर रहमान, सइद अयुबजस्ता थुप्रै प्रभावशाली खेलाडी पनि आगामी च्याम्पियन्स ट्रफीमा देखिने छैनन् ।












