कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा माघ महिनाको अन्तिम दिन ३० गतेसम्म ४ हजार ७ सय ४० जना किशोरीहरूलाई ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइएको छ ।
यही माघ २२ गतेदेखि सुरु भएको खोप अभियानमा ८ दिनको अवस्थामा ४ हजार ७ सय ४० जना किशोरीले एचपिभी खोप लगाएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
पालिका भर रहेका ४ हजार ९ सय २१ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाईने एचपिभी खोप लगाउने लक्ष्य लिएको थियो । अब पालिकामा १ सय ८१ जना किशोरीहरु खोप लगाउन बाँकी रहेका छन् । पालिकाले हालसम्म १३ खोप केन्द्रबाट उक्त सङ्ख्यामा खोप लगाएको जानकारी दिएको छ ।
सरकारले माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर एचपिभी खोप अभियान सञ्चालन गरिरहेको छ । खोप अभियान अन्तर्गत घोडाघोडीका ५२ सामुदायिक विद्यालयका ६ देखि १० कक्षासम्मका छात्राहरु र विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाइएको छ ।
नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको छ ।
जसमध्ये हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाको मृत्यु हुने अनुमान छ । महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो कारण रहेको भए पनि क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।
सरकारले यस वर्ष पाठेघरको रोकथामका लागि सेवाको कभरेज कम्तीमा ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।













