कैलाली । देव सिंह ठकुरी भनिने दीपक बहादुर सिंहलाई जिल्ला अदातल कैलालीले १२ वर्ष अगाडि सवस्वसहित जन्म कैदको सुनायो । अदालतले वि.स. २०६७ मंसिर २७ गते २०६६ असार ११ गतेदेखि लागू हुने गरि सजाए तोक्यो । उनी २०६९ साउन २२ गते कारागारबाट फरार भए ।
तर, १२ वर्षपछि खोलो फर्किन्छ भने जस्तै उनलाई प्रहरीले माघ ३० गते बुधबार बिहान ५ बजेतिर पक्राउ गर्यो । कैलालीको गोदावरी नगरपालिका ११ बस्ने ४८ वर्षीय देव सिंह ठकुरी भनिने दीपक बहादुर सिंहलाई प्रहरीले गोप्य सूचनाको आधारमा आज विहान पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनसार उनी नेपाल भारत सिमानास्थित कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका-१ गड्डाचौकी एरियाकम रहेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक गजेन्द्र बहादुर चन्दसहितको पाँच जनाको टोलीले सिंहलाई पक्राउ गरेको हो ।
के थियो अपराध अनि कस्ता थिए मुद्धाहरु
कैलालीको साविक गोदावरी गा.वि.स. ०६ बस्ने कृत सुनारको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह, तेज बहादुर बडैला र मोहन सिंह बडैला भएको वारदात २०६२ असोज २ गते जाहेरवालाको छोरा मान बहादुर सुनारलाई मारेको कर्तव्य ज्यान मुद्दा- आ.व.२०६२/०६३ साल, मुद्दा नं. ३० (जि.स.व.का. बाट मिसिल फिर्ता भई पेश हुन बांकी) रहेको थियो ।
त्यसैगरी कैलालीकै साविक गोदावरी ७ बस्ने जनक बहादुर साउँदको जाहेरीले वादी नेपाल सरकार भएको वारदात २०६४ फागुन २४ गते राती जाहेर वालाको भतिजा मृतक भक्त बहादुर भन्ने बमबहादुर साउदलाई गोली प्रहार गरी मारेको कर्तव्य ज्यान मुद्दामा प्रतिवादी देब सिंह ठकुरी भन्ने दिपक बहादुर सिंहलाई २०६७ मंसिर २७ गतेको फैसलाले २०६६ असार ११ गते देखि लागु हुने गरी सर्वस्व सहित जन्मकैदको फैसला भई कैद भुक्तान गरिरहेको अवस्थामा जिल्ला कारागार कैलालीबाट फरार रहेका थिए । (आ.व. २०६४।०६५ साल, मुद्दा नं. १८२)।
यस्तै कैलालीको धनगढी–१ फुलबारीका सोभान टमटाको जाहेरीले २०६५ असार १० गते, अपहरण गरी शरिर बन्धक बनाएको अपहरण तथा शरिर बन्धकको मुद्दा दायर भएको थियो । (आ.व.२०६५/०६६ साल मुद्दा नं. ३५०)
प्रहरी निरीक्षक धन बहादुर कठायतको जाहेरीले २०६६ असार १० गते हातहतियार खरखजनामा पक्राउ परी २०६६ साउन ५ गते अनुसन्धान पश्चात कारागार चलान भएकोमा १ बर्ष कैद सजाय फैसला भएको थियो । (आ.व.२०६५/०६६ साल मुद्दा नं. ३४९)
त्यस्तै २०६९। साउन २२ गते निज प्रतिबादी देव सिंह ठकुरी भन्ने दिपक बहादुर सिंह कैलाली कारागारबाट भागी फरार भएको कैदी भागे भगाएको मुद्दामा देव सिंह ठकुरी भन्ने दिपकबहादुर सिंह, प्रहरी नायब निरीक्षक लोक बहादुर बोहरा, प्रहरी हवल्दार गणेश चन्द र प्रहरी जवान दिल बहादुर टमटा उपर मुद्दा दायर भई सम्मानित कैलाली जिल्ला अदालतमा मुल्तबीमा रहेको थियो ।












