अर्जुन ट्रफी : कुशल भुर्तेलको सानदार प्रदर्शनमा डडेल्धुरा फाइनलमा, बुटवल पराजित 

कैलाली । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स क्लब डडेल्धुरा फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा न्यु होराइजन बुटवललाई ५ विकेटले पराजित गर्दै डडेल्धुरा उपाधि होडमा प्रवेश गरेको हो । डडेल्धुराका लागि कुशल भुर्तेलले उत्कृष्ट अलराउण्ड प्रदर्शन गर्दा ३० बल अगावै खेल आफ्नो हात पारेको हो ।

धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा बुटवलले दिएको ८३ रनको झिनो लक्ष्य डडेल्धुराले ५ विकेटको क्षतिमा १५ ओभरको समाप्तिमा खेल हात पारेको हो । उसका लागि ओपनर कुशल भुर्तेलले २६ बलमा ६ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ४६ रनको योगदान गर्दै जिततर्फ अग्रसर गराएका थिए । यस्तै आयुष्मान् बमले १६ रन बनाउँदा कप्तान सन्दीप जोरा ६ तथा किरण ठगुन्ना ८ रनमा अविजित रहँदा ३ ब्याटर समान १ रनमा पेभिलियन फर्किए ।

बलिङतर्फ बुटवलका प्रिन्स पालले सर्वाधिक ३ विकेट हात पार्दा निर्मल गुरुङ र महेश भारले समान १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको बुटवल १६.१ बलमा सबै विकेट गुमाएर जम्मा ८२ रनमै समेटिन पुग्यो । उसका लागि आरिफ खानले सर्वाधिक २० रन बनाउँदा दीपक डुम्रेले १८ र निश्चल ज्ञवालीले १४ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।

उसलाई सस्तैमा समेट्न डडेल्धुराका लागि कुशल भुर्तेलले किफायती बलिङ गरे । ३.१ ओभर बलिङ गरेका उनले १९ रन खर्चेर सर्वाधिक ५ विकेट हात पारे । यस्तै अजय चौहानले ३ तथा हेमन्त धामी र अशोक धामीले समान १ विकेट लिन सफल रहे ।

आजको खेलमा उत्कृष्ट प्रदर्शन गरेका भुर्तेल ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

अब भोलि हुने दोस्रो सेमिफाइनल खेलमा सिवाइसी अत्तरिया र डिसीय धनगढीबिच हुने खेलमा विजेता टोली उपाधि भिडन्तमा डडेल्धुरासँग भिड्नेछ ।

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख प्राप्त गर्नेछन् । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद १ लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई नगद १० हजार प्रदान गरिँदै आएको छ ।