कैलाली । कैलालीको धनगढीमा भइरहेको अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा घोडाघोडी-११ सुखडले पहिलाे जीत हात पारेकाे छ । आज भएको दोस्रो खेलमा फ्रेन्ड्स युथ क्लब डडेल्धुरामाथि १ विकेटको सनसनीपूर्ण जित हात पार्दै जित दर्ता गरेको हो ।
डडेल्धुराले दिएको १ सय २५ रनको मध्यम रनको लक्ष्य घोडाघोडीले १९.१ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका लागि अयुब चन्दले सर्वाधिक ३३ रनको योगदान गरे । योगेश भाटले २० तथा टेक रावत र कप्तान शेर मल्लले समान १८ रनको योगदान दिदै टोलीलाई जित तर्फ अग्रसर गराएका थिए ।
बलिङतर्फ डडेल्धुराका हेमन्त धामीले ३,अभिशेक गौतमले २ तथा क्रिस ऐर, कुशल भुर्तेल र गजेन्द्र बोहराले समान १ विकेट हात पारे ।
यसअघि धनगढीकाे फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २४ रनको आँकडा मात्रै तयार गर्न सक्यो । उसका लागि विकेटकिपर विनोद भण्डारीले अविजित ५६ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । जसका कारण डडेलधुरा चुनौतीपूर्ण योगफल तयार पार्न असफल रह्यो ।
बलिङतर्फ घोडाघोडी-११ का नरेन साउदले सर्वाधिक ४ विकेट हात पार्दा श्रेष्ठले २ तथा सञ्जय बोहरा र भुपेश जोशीले समान १ विकेट लिएका थिए ।
यसअघि लगातार दुई खेलमा घोडाघोडीले पराजय भोगेको थियो । लगातार दुई खेलमा पराजय भोगेको घोडाघोडी सेमीफाइनल पुग्नबाट भने वञ्चित बनेको छ ।
समूह ‘ए’ बाट डडेल्धुरा र डीसीए धनगढी सेमिफाइनलमा पुगिसकेका छन् । भोलि लिग चरणको अन्तिम खेलपछि समूह ‘बी’ बाट सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लाग्नेछ ।
अर्जुन ट्रफी क्रिकेटमा देशभरका ८ वटा क्लब सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता आउँदो सोमवार माघ २८ गतेसम्म चल्नेछ ।












