कैलाली । हरेक वर्षझैँ यस वर्ष पनि फेब्रुअरी २ तारिखमा अर्थात आज विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ । ‘हाम्रो साझा भविष्यका लागि सिमसार क्षेत्रको संरक्षण’ भन्ने नाराका साथ यस वर्ष नेपालमा पनि विभिन्न कार्यक्रमहरू गरी विश्व सिमसार दिवस मनाइदैछ । सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा भएको वैज्ञानिक सम्मेलनबाट रामसार नामकरण भएको हो । रामसार क्षेत्र भन्नाले सिमसार तथा पंक्षीको संरक्षित प्राकृतिक सम्पदा क्षेत्र भन्ने बुझिन्छ। नेपालका विभिन्न प्राकृतिक सम्पदास्थललाई रामसार क्षेत्र घोषणा गरिएको छ।

कैलालीको घोडाघोडी नगरपालिका १ मा रहेको विश्व रामसार क्षेत्रमा सूचिकृत यस ताल क्षेत्रमा वर्षेनी सयौँ पर्यटक आउने गरेका छन् ।


सौन्दर्यिकरणका नाममा कङ्क्रिट संरचनाले भरिपूर्ण घोडाघोडी ताल २ हजार ५६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । हत्केला आकारको यस ताललाई सन् २००३ अगस्ट १३ मा विश्व सिमसार क्षेत्रमा सूचिकृत गरिएको थियो । पूर्वपश्चिम राजमार्गसँगै जोडिएको ताल क्षेत्रमा ४५० प्रजातिको वनस्पति एवम् दर्जनौं प्रजातिका चराचुरुङ्गी समेत पाइने गरेका छन् ।

















