घोडाघोडीमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी नागरिक सचेतना कार्यक्रम सम्पन्न

सुखड । कैलालीको घोडाघोडी नगरपालिका १ सुखड स्थित घोडाघोडी बहुमुखी क्याम्पसमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी नागरिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले इलाका प्रहरी कार्यलय सुखडसँगको सहकार्यमा आज आइतबार घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न गरेको हो ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य खुसिराम चौधरीको प्रमुख आतिथ्यमा लागू पदार्थ दुर्व्यसन सम्बन्धी नागरिक सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले घोडाघोडी नगरपालिका लक्षित लागू पदार्थ दुर्व्यसन सम्बन्धी नागरिक सचेतना कार्यक्रम सञ्चालन गरिएकाले दुर्व्यसनमुक्त समाज निर्माण नगरे सम्म कुनै पनि विकास हुन नसक्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै घोडाघोडी बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले युवा तथा किशोर किशोरीलाइ लागू पदार्थबाट टाढै रहन आग्रह गर्दै लागू पदार्थ दुर्व्यसनमुक्त समाज निर्माणमा सबै अग्रसर हुनु पर्ने बताए ।

घोडाघोडी बहुमुखी क्याम्पसका स्नातक तहका विद्यार्थीको उपस्थितिमा इलाका प्रहरी कार्यलय सुखडका  प्रहरी नायब निरीक्षक दीर्घ बहादुर साउदले लागू पदार्थ दुर्व्यसनी, साइबर अपराध नियन्त्रण एवम् सामाजिक अपराध न्यूनिकरणका लागि प्रस्तुती दिएका थिए ।