डोटीमा यो पटक ८ करोडको सुन्तला उत्पादन

डोटी । डोटी जिल्लामा यो वर्ष ८ करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादित अधिकांश सुन्तला अन्य जिल्लामा निर्यात गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा ३ हजार ४ सय ८ दशमलव ६२ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।

उक्त सुन्तला बिक्री गरेर कृषकले ८ करोड रुपैयाँ आम्दानी गरेको कृषि ज्ञान केन्द्रका प्रमुख गङ्गादत्त अवस्थीले जानकारी दिएका छन् । यस वर्ष २ सय ६२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको थियो । आ.व २०७८/७९ मा सुन्तला उत्पादन २ हजार ९ सय ३२ मेट्रिक टन रहेको थियो भने आ.व २०७९/८० मा उत्पादन बढेर ३ हजार २ सय ४० मेट्रिक टन पुगेको अवस्थीले बताए ।

जेरायल गाउँपालिका-५ र ६, बोगटान गाउँपालिका-१, २, ७ र बडीकेदार गाउँपालिका-१ पातल मुडा रजेडा, वडा नम्बर २ को छेडा, कोटक्यान्या, वडा नम्बर ४ को खेताली टिमुट्ट, रनुकाँडा, पुन्तडा र वडा नम्बर ५ को लानाका बस्तीमा सुन्तला खेती विस्तारको सम्भावना रहेको केन्द्रले जनाएको छ ।

डोटीमा उत्पादित अधिकांश सुन्तला अत्तरिया, धनगढी, महेन्द्रनगर, नेपालगञ्जका व्यापारीले लैजाने गरेका छन् । सुन्तला खरिदका लागि व्यापारी बगैँचासम्म पुग्ने गरेका किसान बताउँछन् ।

जिल्लामा सुन्तला उत्पादनलाई बढाउन र किसानलाई प्रोत्साहन गर्न केन्द्रले सुन्तला टिप्न सिडी, क्रेट, कैँची लगायतका आवश्यक विभिन्न सामग्रीहरू सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा कृषि उपजलाई ‘ब्रान्डिङ’ गरी बाहिर निर्यात गर्न आवश्यकता अनुसारका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने योजना रहेको केन्द्रका प्रमुख अवस्थीले बताए ।

सुन्तला उत्पादनको हिसाबले डोटीको बडीकेदार गाउँपालिका, बोगटान फुड्सिल गाउँपालिका र जोरायल गाउँपालिका बढी प्रख्यात मानिएको छ । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि उत्पादन हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । डोटीमा सुन्तला उत्पादन गर्ने किसानहरूले सामान्य रूपमा १ जनाले ४० हजारदेखि १५ लाखसम्मको सुन्तला बिक्री गर्दै आइरहेका छन् ।

केन्द्रका प्रमुख अवस्थीका अनुसार पछिल्लो समयमा कृषि उपज सङ्कलनका लागि व्यापारीहरू किसानको घरदैलोमा आउने गरेकाले उत्पादित सुन्तलासहित अन्य कृषि उपजका लागि बजारीकरणको समस्या छैन ।

सुदूरपश्चिमका मुख्य सहरहरूमा सुन्तलाको बजार मूल्य प्रतिकिलो १ सय रुपैयाँमा बिक्री हुने गरेको छ भने किसानहरूले तुलनात्मक रूपमा प्रतिकिलो ५० देखि ६१ का दरले बारीमा बिक्री गर्दै आएका छन् ।